म्याग्दीको सदरमुकाम बेनीबजारमा बिपिन लामिछाने भगवानको मूर्ती बनाउन ब्यस्त छन् । विहानैदेखि ढुङ्गा, सिमेन्ट, धातुसँग खेल्ने गरेका लामिछानेले जिल्लाका धार्मिकस्थल, विद्यालय तथा विभिन्न व्यक्तिहरुका शालिक निर्माणका लागि अर्डर आउन थालेपछि भ्याईनभ्याई छ ।

करिब ६ महिना अगाडी बेनी नगरपालिका–८, गणेशटोलमा म्याग्दीमै पहिलोपटक मूर्ती उद्योग तथा मार्वल आर्ट सञ्चालनमा ल्याएका लामिछानेले छोटो समयमै म्याग्देलीको मन जित्न सफल भएका छन् ।

एक्लै उद्योगमा सक्रिय रहेका लामिछानेलाई म्याग्दीका साथै पर्वतबाट समेत धमाधम अर्डर आउन थालेपछि खाने फुर्सद समेत छैन् । ‘यहाँको लागि नयाँ ब्यवसाय हो,‘ब्यवसायबाट सन्तुष्ट छु’ लामिछानेले भने ।

उद्योगमा विभिन्न विद्यालय, धार्मिक संस्थाबाट शिलापत्रमा नाम लेख्ने, विभिन्न चाडपर्व अनुसार देवीदेवताको मूर्तीको माग आउन थालेपछि एकाविहानै देखि राती अवेरसम्म काम गर्ने गरेको लामिछानेको भनाई छ ।

मूर्ती र मार्वल ब्यवसायलाई जिविकोपार्जनको माध्यम बनाएर आफ्नै दाईले बागलुङमा स्थापना गरेको सुवास मूर्ती उद्योग र लेखनाथ मूर्ती उद्योगमा बाल्यकाल देखि सिकेको सीपबाट म्याग्दीमा उद्योग सञ्चालन गरेका लामिछानेले ब्यक्तिगत सालिक समेत फोटो हेरेर बनाउने सक्छन् ।

‘मेरो लागी पुख्यौली ब्यवसाय नै हो,‘सानैदेखि मुर्तिकलामा निकै रुची थियो, यसको विकल्प अरु ब्यवसाय रोज्ने कल्पना गरेको छैन’ लामिछानेले भने ।

उनले लगानी र मेहनत अनुसारको आम्दानी समेत भएकाले सुन्दर र कलात्मक मूर्तिहरुले सेवाग्राही समेत दंग पर्ने गरेको बताए ।

पर्वतमा जन्मिएर बागलुङमा हुर्किएका लामिछानेले म्याग्दी जिल्लाकै अब्बल मुर्तिकारको रुपमा चिनिने सोच रहेको बताए । उमेरले २५ बर्षमा प्रवेश गरेका लामिछानेले न्यूनतम ५ हजारदेखि ३ लाखसम्मको अर्डर लिएर काम गर्ने गरेका छन् ।

पसल बाहेक ग्राहकको चाहना अनुसार ठाउँमै पुगेर समेत काम गर्ने गरेका छन् । अर्डर अनुसार म्याग्दीमै काम गर्न नसकेको अवस्थामा बागलुङमा रहेका दाईको उद्योगबाट समेत मगाएर ग्राहकलाई समयमै उपलब्ध गराउने गरेको लामिछानेको भनाई छ ।

सस्तो, गुणस्तरीय र ग्राहकको चाहना अनुसारको सेवाबाट छोटो समयमै विश्वास जित्न सफल भएका लामिछानेले घरेलु र म्याग्दी उद्योग वाणिज्य संघमा समेत ब्यवसाय दर्ता गरेका छन् ।विगतमा जिल्लाबाट मूर्ती, शिलापत्र लगायत काम लिएर बागलुङ र पर्वत जानुपर्ने अवस्थामा बेनीमै उद्योग सञ्चालनमा आएपछि सहज भएको म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बताए ।‘नयाँ उद्योग भित्राउन आवश्यक सहयोग गछौं,‘यूवाहरु उद्योग ब्यवसायमा लाग्नु राम्रो हो’ श्रेष्ठले भने । उनले मार्वल, मूर्ती उद्योगको बजार जिल्लाभित्रका साथै बाहिर समेत भएकाले निर्यातको सम्भावना समेत धेरै रहेको बताए ।

विज्ञापन