काठमाडौंको कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान अस्पतालमा भर्ना भएका कोरोना संक्रमित ३३  जना ७ दिनमै निको भएको त्यहाँका चिकित्सकले दाबी गरेका छन् । गत असार २५ र २६  गते भर्ना भएका उनीहरू एक हप्तामै डिस्चार्ज भएको उनीहरूको भनाइ छ ।

अस्पतालका चिकित्सकका अनुसार उनीहरू भर्ना भएपछि आयुर्वेद विज्ञ चिकित्सक टोलीबीच छलफल गरी श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने र रोग प्रतिराेधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि सेवन गर्न दिइएको थियो । त्यसको ७ दिनपछि पिसिआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

चिकित्सकका अनुसार भर्ना भएका दुई बालबालिका र एक गर्भवतीलाई भने औषधि दिइएको थिएन । उनीहरूको स्वास्थ्यमा कुनैै समस्या नरहेको उपचारमा संलग्न चिकित्सक जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

अस्पतालका अनुसन्धान अधिकृत तथा चिकित्सक अमितमान जोशीका अनुसार भर्ना भएका  सबैलाई स्वस्थ पार्ने विषयमा केन्द्रका विज्ञ चिकित्सकबीच छलफल गरी संक्रमितलाई विभिन्न आयुर्वेदिक औषधि दिइएको हो।

टोलीमा काया चिकित्सक, पोषणविद्, द्रव्यगुण चिकित्सक, शल्यविज्ञ लगायत मिलेर औषधि छनोट गरिएको थियो । संक्रमितलाई शरीरको प्रतिरक्षा शक्ति बढाउन गुर्जो, पिप्ला, अश्वगन्ध, तुलसी सुतमनीलगायत जडीबुटीका औषधि खुवाइएको उनले जानकारी दिए ।

‘सात दिनमै रिपोर्ट नेगेटिभ आएपछि संक्रमित बस्न मानेनन्,’ आयुर्वेद चिकित्सक श्रेष्ठले भने । भर्ना भएकामध्ये तीन जनामा मात्र सामान्य रुघाखोकी, श्वास फेर्न गाह्रो हुने र ज्वरो आउनेजस्ता मध्यम लक्षण देखिएका थिए भने अरूमा खासै लक्षण देखिएका थिएनन् ।

आयुर्वेदिक विधिबाट छोटो अवधिमै संक्रमित स्वस्थ भएपछि यसलाई थप अनुसन्धानका रूपमा प्रयोग गर्ने सोच बनाइएको आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत चिकित्सक अमितमान  जोशीले बताए ।  ‘यो औषधिले कोरोना निको नै भयो भन्ने हाम्रो दाबी होइन, तर बिरामीलाई लाभ मिलेको देखिन्छ, यसमा अनुसन्धान गर्नेबारे छलफल क्रममा छौं,’ जोशीले भने ।  यो समाचार नागरिक दैनिकमा छ ।

विज्ञापन