उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाको ज्ञानप्रकाश माविको शैक्षिक उन्नयनका लागि वडा अध्यक्षले साढे तीन रोपनी जग्गा निःशुःक उपलब्ध गराउनुभएको छ । जिल्लामै पहिलो नमुना विद्यालयको रुपमा छनौट भएको विद्यालयमा उच्च मावि अध्यापन र शैक्षिक गुणस्तरमा अभिवृद्धि गराउनका लागि वडा अध्यक्ष नरसिंह बहादुर पूर्जाले विद्यालय नजिकै रहेको जग्गा दान दिनुभएको हो ।

विद्यालयका पूर्व प्रधानाध्यापक समेत रहनुभएका पूर्जाले जिल्लामै सामुदायिक तर्फ नमुना विद्यालयको रुपमा स्थापित भएकाले शैक्षिक गुणस्तर बृद्धिको अभियानमा भौतिक संरचनालाई समेत मध्यनजर गरी उक्त जग्गा विद्यालयका नाममा नामसरी गरी दिने घोषणा गर्नुभएको प्रधानाध्यापक सान्तबहादुर नेपालीले बताउनुभयो ।

‘विद्यालयमा उहाँको योगदान लामो छ,‘यो सहयोगले शैक्षिक गतिविधिमा धेरै सहज हुने छ’ प्रअ नेपालीले भन्नुभयो ।उहाँले स्वदेश तथा विदेशमा रहनुभएका स्थानीयको करोडौंको सहयोगले विद्यालयलाई नमुना बनाउने अभियानमा सहज भएको बताउनुभयो । उहाँका अनुसार निशुल्क उपलब्ध जग्गाको मुल्य करिब ५० देखि ६० लाख बराबरको रहेको बताउनुभयो ।

जिल्लामा सामुदायिक तर्फ एसइई तर्फ उत्कृष्ट नतिजा ल्याउने विद्यालयमध्येको ज्ञानप्रकाश माविमा कम्प्युटर शिक्षा, टेलिटिचिङ मल्टिमिडिया सेन्टर तथा विज्ञान प्रयोगशाला समेत रहेको छ । बाल विकासदेखि कक्षा १२ सम्म अध्यापन हुने विद्यालयले रोजगारमुलक विषयमा केन्द्रित गरी नयाँ संकाय समेत थप्ने तयारी गरेको छ ।

विज्ञापन