सरकारले लकडाउन अन्त्य घोषणा गरेसँगै म्याग्दीको पर्यटकीयस्थल टोड्केमा रहेको सुविधासम्पन्न टोड्के हिल्स रिर्सोटले कोठा बुकिङ सुरू गरेको छ । कोरोना भाइरसको जोखिमसँगै बन्द भएको रिर्सोटले विभिन्न प्याकेजमा बुकिङ सुरू गरेको हो ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा रहेको टोड्केमा लकडाउन हटेसँगै समुह र पारिवारिक बसाईलाई मध्यनजर गरी बुकिङ खुल्ला गरिएको हिल्सका प्रबन्धक निर्देशक भिमप्रसाद शेरचनले बताउनुभयो । उहाँका अनुसार तत्काल हनिमुन, कर्पोरेट, पारिवारिक र शैक्षिक गरी चारवटा प्याकेजमा बुकिङ खुल्ला गरिएको छ ।

‘कोरोनाको संक्रमणबाट जोगिन आवश्यक सुरक्षा सावधानी समेत अपनाइएको छ,‘लकडाउनपछि घुम्नै जानुपर्ने पर्यटकीय गन्तब्यको रुपमा प्याकेज तयार पारेका छौ’ शेरचनले भन्नुभयो । ३ करोड रुपैयाँको लागतमा अत्याधुनिक सुविधासहितको रिसोर्ट छोटो दूरीको आर्कषक गन्तब्यको रुपमा चिनिएको छ ।

मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सङ्गम स्थलमा पर्ने टोड्के, मालिका मन्दिर, धौलागिरि सेन्चुरी पदमार्गमा आवतजावत गर्ने पर्यटकलाई लक्ष्य गरी रघुगंगा गाउँपालिका–५ झीँमा रिर्सोट, सभाहल, अर्गानिक तरकारी खेती समेत रहेको छ ।

समुन्द्री सतहदेखि झण्डै २ हजार ५०० मिटरको उचाइमा अवस्थित टोड्केमा करिव साढे दुई रोपनी जमीनमा १० वटा सुविधासम्पन्न कोठा, दुईवटा बैठक कक्ष, डाइनिङ्ग हल, कार्यक्रम सञ्चालन गर्न मिल्ने सभाहल, बार र टेन्ट हाउस समेत रहेको छ ।

काठमाडौँ र पोखरामा रहेका ट्रेकिङ्ग एजेन्सीहरुसँग समेत सहकार्य भएकाले भदौ, असोज महिनामै पर्यटकको आगमन बढ्ने अनुमान गरिएको छ ।

प्राचीन कालमा विभिन्न ऋषि महर्षिहरुले तपस्या गरेको यस स्थानमा १९३५ सालमा त्रिशुली बाबाले तपस्या गरेर यहाँ शिव मन्दिर र धर्मशाला लगायतका केही संरचनाहरु भएकाले धार्मिक पर्यटककलाई समेत लक्षित गरी भविस्यमा प्याकेज बनाउने रिर्सोटले जनाएको छ ।