म्याग्दी उद्योग वाणिज्य संघले स्थापनाको स्वर्ण जयन्ती (५०औँ वर्षगाँठ) विविध कार्यक्रम सहित सुरू गरेको छ । शनिबार सचिवालयमा आयोजित कार्यक्रममा निजी क्षेत्रको हकहितका लागि स्थापना भएको संस्थाले जिल्लामा आर्थिक, सामाजिक, विकास निर्माणका साथै आवश्यकता अनुसार नेतृत्वदायी भूमिका खेलेकाले आगामी दिनमा थप प्रभावकारी उपस्थिती जनाउनुपर्नेमा जोड दिइएको थियो ।

स्वर्ण जयन्ती शुभारम्भ कार्यक्रमको संस्थाका मानार्थ सदस्य नैनकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायीक हकहित र अधिकारका लागि बि.स २०२७ साल साउन १७ गते स्वर्गिय चन्द्रशेखर श्रेष्ठको अध्यक्षतामा स्थापना भएको संघले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी स्वर्ण जयन्ती शुभारम्भ गरेपनि बर्षभरी कार्यक्रम गर्ने अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।

‘स्वर्णजयन्तीको बर्षलाई स्वर्णिम अक्षरमा लेख्ने गरी मनाउने छौ,‘ब्यवसायीलाई निराश हुन दिन्नौं,‘ आम उद्यमी व्यवसायीलाई उत्साहित हुने गरी भावी कार्यक्रमहरु अगाडी बढाउँछौ’ अध्यक्ष कर्माचार्यले भन्नुभयो । उहाँले जिल्लाको आर्थिक समृद्धिका लागि विगतमा जस्तै सरकार, प्रवासी नेपालीसँग सहकार्य गरी पूर्वाधारको क्षेत्रमा समेत सक्रियता देखाउने बताउनुभयो । जिल्लाको पर्यटन, आर्थिक विकासका सम्भावनालाई उजागर गर्न म्याग्दी भ्रमण बर्षमार्फत विभिन्न कार्यक्रमहरु गरिएको अध्यक्ष कर्माचार्यको भनाई छ ।

स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रममा संस्थाको स्थापना तथा संस्थागत गतिविधिका बारेमा पुर्व अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेश सदस्य एवम् पूर्व अध्यक्ष कुविरकुमार श्रेष्ठ, पूर्व अध्यक्ष सुर्यप्रसाद मर्सानी, पूर्व अध्यक्ष जिवनकुमार विश्वकर्माले मन्तब्य राख्नुभएको थियो । सोही अवसरमा बेनी अस्पतालमा रहेका १५ जना बिरामीलाई फलफुल वितरण गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता एवम् स्वागत संघका अध्यक्ष कर्माचार्य, सञ्चालन महासचिव लिलाराम गौतम र समापन बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले गर्नुभएको थियो ।

विज्ञापन