बेनी–जोमसोम सडकको गलेश्वर–घाँसा ३८ किलोमिटर खण्डमा बाढीपहिरोले अवरोध पुर्‍याएपछि हिमालपारिको जिल्ला मुस्ताङमा खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ ।

मनसुन सुरु भएसँगै पेट्रोलियम पदार्थको ढुवानी अनियमित भएको हो । असार २७ देखि बेनी–जोमसोम सडकको गलेश्वर–घाँसा खण्डका दर्जनभन्दा बढी स्थानमा बाढीपहिरोले यातायात अवरुद्ध हुँदा मुस्ताङमा ग्यास र पेट्रोलियम पदार्थ ढुवानी ठप्प छ ।

मुस्ताङमा नेपाल आयल निगमको डिलर नभएकाले व्यवसायीले बेनी र पोखराबाट ब्यारेल (२ सय २० लिटर क्षमताको ड्रम) मा भरेर डिजेल, पेट्रोल ल्याई प्लास्टिक बोटलमा भरेर बेच्ने गर्छन् । ग्यास पनि पोखराबाटै सिलिन्डर भरेर लैजाने गरिएको छ ।

ग्यास अभाव हुँदा ठूलो संख्यामा रहने सुरक्षाकर्मी, कर्मचारी र मजदुर समुदाय बढी प्रभावित छन् । बजारमा ६ सय लिटर डिजेल, ५० लिटर पेट्रोल र ५०–६० वटा ग्यास सिलिन्डर मात्र स्टक भेटिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

‘पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि हाहाकार नै भएको छ । गुनासोपछि बजार अनुगमन गर्दा पेट्रोलियम पदार्थको स्टक नै रहेनछ । मुस्ताङबाट पनि सडक मर्मत गर्दै तल झर्न खोज्दा डोजर चलाउने इन्धन भएन,’ प्रमुख जिल्ला अधिकारी वेदनाथ अर्यालले भने, ‘असारे विकासले पनि एक्कासि पेट्रोलियम पदार्थ सकिएको हो। इन्धनको जिल्लामा डिपो नभएको तर ठेकेदारले समयमा स्टक नराख्दा समस्या भयो ।’ पेट्रोलियम पदार्थसँगै निर्माण सामग्री ढुवानी पनि रोकिएकाले मुस्ताङमा सञ्चालित विभिन्न पूर्वाधारका योजना प्रभावित भएका छन् ।

पानी नपर्ने र गर्मी मौसम भएकाले मुस्ताङमा वैशाख–भदौ पूर्वाधार निर्माणको उपयुक्त समय हो । ‘लकडाउनले अवरुद्ध योजना लकडाउन खुलेसँगै मुस्ताङमा पूर्वाधार निर्माणको कामले गति लिएको थियो । तर लामो समयदेखि सडक अवरुद्ध भएपछि निर्माण सामग्री ढुवानी रोकिएकाले काम प्रभावित भएका छन्,’ गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टले भने, ‘तर काम गर्ने मुख्य सिजनमा मजदुर र निर्माण सामग्री ल्याउन नपाउँदा योजनाहरू प्रभावित भएका छन् ।’

पेट्रोलियम पदार्थको अभाव बढेसँगै मुस्ताङमा सञ्चालित राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकको लेत–जोमसोम–कोरला खण्डमा भइरहेको कामसमेत धेरै योजना प्रभावित भएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।