कोरोना भाइरसबाट बच्न सामुदायिक प्रहरी सेवा केन्द्र म्याग्दीले निःशुल्क मास्क वितरण सुरु गरेको छ । विभिन्न नाकाबाट मास्क नलगाईकन हिँड्नेलाई प्रहरीले कारबाही सुरु गरेपछि संक्रमणबाट जोगिन निशुल्क मास्क वितरण सुरु गरेको सेवा केन्द्रका सचिव लक्ष्मण कटुवालले बताउनुभयो ।

सेवा केन्द्र नजिकैको पोष्टमा मास्कको महत्व र आवश्यकताका बारेमा समेत जानकारी गराइएको सचिव कटुवालको भनाई छ ।

वितरण कार्यक्रममा केन्द्रका पदाधिकारी र सदस्यले पैदलयात्री, सवारी चालक तथा यात्रुहरूलाई रोकेर करिब ५ सय सर्जिकल मास्क दिदैं आगामी दिनमा घरबाट बाहिर निस्कदाँ अनिवार्य प्रयोग गर्ने प्रतिबद्धता समेत जनाउन लगाएका थिए ।

म्याग्दी प्रहरीले मास्क नलगाई बजारमा देखिएकालाई धमाधम कारवाही सुरु गरेपछि सेवा केन्द्रले सन्देशमुलक सूचना सहित प्रहरीसँग समेत सचेतनामुलक कार्यक्रममा सहभागिता जनाउने गरेको अध्यक्ष विष्णु गुरुङले बताउनुभयो ।

पछिल्ला केही दिनयता लकडाउन खुलेको भन्दै बिना मास्क आवतजावत बढेपछि बजार क्षेत्रमा कडाई गरिएको छ । यसैबीच प्रहरीले पहिलो चरणमा मास्क नलगाउनेलाई सचेत बनाउने र दोस्रो चरणमा १ सय जरिवाना लिएर छोड्न थालेको छ ।