अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर विस्थापित भएका र भत्किएका संरचना बनाउन आवश्यक प्राथमिकता दिने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता जनाउनुभएको छ ।

म्याग्दीका विभिन्न स्थानमा विस्थापित भएकालाई राहत तथा पुर्नवास, भत्किएका सडक, पुल लगायतका संरचनाको पुर्ननिर्माणका लागि म्याग्दीका प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउनुभएको थियो ।

प्राकृतिक विपत्तीबाट अस्तब्यस्त भएको म्याग्दीको अवस्थामा बारेमा जानकारी गराउँदै बजेट र भत्किएका संरचनाको पुर्ननिर्माणमा आवश्यक सहयोग माग्नुभएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो ।

‘जिल्लाको सम्रग अवस्थामा बारेमा सम्माननीय प्रधानमन्त्रीलाई जानकारी गराइएको छ,‘उहाँले म्याग्दीको समस्या समाधानका लागि तत्कालै मन्त्रालयलाई निर्देशन दिनुभएको छ’ श्रेष्ठले बेनीअनलाइनलाई भन्नुभयो ।

म्याग्दी जिल्ला बाढीपहिरोको उच्च जोखिममा रहेकाले प्राकृतिक विपत्तीबाट भएको क्षतीलाई मध्यनजर गरी हरेक बर्ष विनियोजन हुने बजेटमा समेत विषेश सम्बोधन गर्न समेत अनुरोध गरिएको श्रेष्ठको भनाई छ ।

गएको असार २५ गते म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ, मालिका–७ बिम लगायत जिल्लाका विभिन्न २८ जनाले ज्यान गुमाएका छन भने ४ जना बेपत्ता छन् । म्याग्दीलाई बाढीपहिरो प्रभावित जिल्लामा राखेर बजेटमा विषेश प्राथमिकता दिन पटकपटक माग गरिएपनि सुनुवाई हुन सकेको छैन् ।