म्याग्दीका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग जुटाइरहेको म्याग्दी समाज न्यूयोर्कले पहिलो चरणमा ज्यान गुमाएका र बेपत्ता भएकाको परिवार, गम्भीर घाईते र सुत्केरी महिलालाई चारलाख भन्दा बढी आर्थिक सहयोग गर्ने भएको छ ।

अमेरिकाको न्यूर्योगमा बसोबास गर्ने म्याग्देलीहरूको साझा संस्था समाजले करिब ४५ लाख संकलन गरेकोमा समाजका सदस्यहरूको आफन्तमार्फत जनप्रतिनिधिको उपस्थितीमा सहयोग समाजका सचिव याम पुनले बताउनुभयो ।

परिवारभित्र एकजनाभन्दा धेरैको ज्यान गएकालाई १५ हजार, घाईतेलाई उपचारमा १० हजार, सुत्केरीलाई १० हजार सहयोग गरिने सचिव पुनको भनाई छ ।

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङ र मालिका–७, विम सहित जिल्लाका विभिन्न स्थानमा गएको असार महिना यता बाढीपहिरोमा २८ जनाले ज्यान गुमाएका छन भने ५ जना बेपत्ता छन् ।

त्यस्तै सुत्केरी ३ जना, गम्भीर घाइते ३ जनाले पोखरामा उपचार गराइरहेका छन् । समाजका अध्यक्ष भविन्द्र शेरपुञ्जाले अति समस्यामा रहेकालाई पहिलो, पूर्ण विस्थापित दोस्रो र राहतबाट छुटेकालाई तेस्रो गरी तीन चरणमा राहत वितरण गर्ने जानकारी दिनुभयो ।

‘परिवारका सबै सदस्यको मृत्यु भएको अवस्थामा काजकिरियामा बस्नेलाई उक्त सहयोग हस्तान्तरण गरिने छ,‘दोस्रो चरणको सहयोग पूर्ण विवरण आएपछि पठाउने छौ’ शेरपुञ्जाले भन्नुभयो । बाढीपहिरोबाट विस्थापित भएलाई समाजको तर्फबाट रमेश तुलाचनको संयोजक र मन प्रसाद रोका सहसंयोजक रहेको राहत संकलन समिति समेत गठन गरिएको थियो ।

समाजले यसअगाडी जिल्लामा धेरै सामाजिक गतिविधिमा सहयोग गरेको छ । बाढीपहिरोबाट विस्थापितलाई राहत, रोजगारको क्रममा अमेरिकामा घाईतेको उपचार तथा मृतकको परिवारलाई राहत,बेनी अस्पताल र तीनवटा स्वास्थ्य चौकीमा करिव चार लाख बराबरको स्वास्थ्य साम्रागी र उपकरण सहयोग र बेनी नगरपालिका, अन्नपूर्ण, मंगला गाउँपालिका र बेनी अस्पतालसंग सहकार्य गरी शिख, भकिम्ली र बावियाचौरमा सञ्चालन गरिएको निःशुल्क बृहत स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो ।

 

Leave a Reply