रुसले कोरोनाभाइरस विरुद्ध स्थायी प्रतिरक्षामुलक खोपको विकास गरेको छ । यो पहिलो खोपबारे राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका छन् । पुटिनले आफ्नी एउटी छोरीलाई पनि यस खोप लगाएको बताएका छन् ।

पुटिनले भनेका छन्, ‘मेरी एक छोरीलाई पनि यो खोप लगाइएको थियो । रुसले कोभिड १९ विरुद्धको खोप विकासमा तीव्र रुपमा काम गर्दैआएको छ । यही महिनाको सुरुमै भनिएको थियो कि, उक्त खोप केही सातामै आम मानिसले प्रयोग गर्न मिल्ने गरी सार्वजनिक हुनेछ ।

मस्कोको गामेल्या इन्स्टिच्युट अफ एपिडेमियोलोजी यान्ड माइक्रोबायोलोजीमा खोप तयार पारिएको हो । रुसले खोप बनाउने काम निकै गोप्य तरिकाले गरेको हो । अन्य देशहरूले खोपको प्रयोग र विकासको प्रत्येक चरणको जानकारी दिइरहँदा रुसले निकै गोप्य तरिकाले काम गरिरहेको थियो ।

अर्को वर्षदेखि दशौँ लाख मानिसले प्रयोग गर्न सक्ने गरी उत्पादन हुने बताइएको थियो । विश्व स्वास्थ्य संगठनले भने गत साता रुसलाई स्थापित निर्देशिका तथा मान्यता पछ्याउन आग्रह गरेको थियो ।

विज्ञापन