सदरमुकाम बेनीमा रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले ग्रामिण क्षेत्रबाट सेवा प्रवाह गर्ने उद्देश्यले रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सेवा केन्द्र स्थापना गरेको छ ।

स्थानीय मौवाफाँट बचत तथा ऋण सहकारीसँग एकीकरण गरेको सहकारीले शनिबार एक कार्यक्रमका बीच सहकारीका अध्यक्ष बालकृष्ण सुवेदीले सेवा केन्द्रको उद्घाटन गर्नुभएको थियो । सेवा केन्द्रको उद्घाटन गदैं सहकारीका अध्यक्ष सुबेदीले सहज रुपमै गाउँमा बचत र कर्जा प्रवाहको वातावरण बनाउन सहकारीले जिल्लाका विभिन्न स्थानमा सेवा विस्तारको योजना बनाएको बताउनुभयो ।

उहाँले उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिएर कर्जा प्रवाह गर्ने र बचतकर्तालाई आकर्षक ब्याजदर दिने बताउनुभयो । सेवाकेन्द्र स्थापनाको अवसरमा सहकारीका लेखासमिति सदस्य पदम भण्डारी, सहसचिव मुक्तिनाथ शर्मा, सल्लाहकार ठहरबहादुर भण्डारी, सेवाकेन्द्र ब्यवस्थापन समितिका सदस्य प्रकाश सुवेदी र प्रवित्र आमा समुहकी अध्यक्ष कमला केसी लगायतले मन्तब्य राखेका थिए ।

संस्थाका सञ्चालक समिति सदस्य मोहन बानियाँको सञ्चालन, नगेन्द्रकुमार श्रेष्ठले स्वागत गरेको कार्यक्रममा जेष्ठ नागरिक र सेवानिवृत भुपु सैनिकलाई सम्मान गरिएको थियो। सोही अवसमार कोरोना भाइरसबाट जोगिन मास्क, सावुन समेत वितरण गरिएको थियो । केन्द्रबाट बेनीमा रहेको सहकारीको मुख्य कार्यालयसँग समन्वय गरी कर्जा, बचत तथा रेमिट्यान्स लगायतका कारोबार गरिने जनाइएको छ ।

विज्ञापन