म्याग्दीमा ‘जंगली कुखुरा’ भनेर चिनिने कालिजको पहिलोपटक ब्यवसायीक पालन सुरू भएको छ । हरियाली समुहले बेनी नगरपालिका–४, सिंगामा करिब ८० लाखको लगानीमा १५ रोपनी क्षेत्रफलमा कालिजपालन व्यवसाय शुरु गरेको हो । जिल्लाको सबैभन्दा ठुलो कृषि कम्पनीको रूपमा चिनिएको समुहले कृषि मन्त्रालयको अनुमति लिई पहिलो चरणमा ल्याएको करिब ५ सय चल्ला खानयोग्य भएपछि धमाधम विक्री वितरण समेत सुरु भएको समूहका प्रबन्धक शेरबहादुर केसीले बताउनुभयो ।

भदौ महिनाबाट प्रति कालिज रु तीन हजार ५ सय का दरले बिक्री सुरु गरेको केसीले बताउनुभयो । हरियालीमा उत्पादन गरेको चल्लालाई कानुनी मान्यता लिएका फार्ममा विक्री गर्ने, मासुका लागि जिल्लाभित्र होटल, ब्यक्तिगतका साथै पोखरासम्म बजार विस्तार गर्ने योजना रहेको छ । कालिज व्यवसायलाई अझ बृहत् बनाउन थप ४ सय चल्ला थपिएको छ । कालिज पालनका लागि अनुकुल हावापानी भएकाले भएकाले सहज भएको इन्चार्ज भगवान खड्काले बताउनुभयो । एउटा पोथी कालिजले २० देखि ४० वटा अण्डा उत्पादन गर्ने भएकाले बच्चा उत्पादन गरी कालिज व्यवसायलाई समुहको प्रमुख आम्दानीको स्रोत बनाउने योजना समेत रहेको समुहले जनाएको छ ।

समुहले काठमाडौको दक्षिणकालीमा रहेको एभरेष्ट वाइल्ड लाइभ एग्रो एण्ड रिसर्च प्रालिले उत्पादन गरेको रिङनेक प्रजातिको कालिज प्रति गोटा चल्ला १ हजार ३५० का दरले खरिद गरेर ल्याइएकोमा दानापानी र हुर्काउदाँ करिब २ हजारभन्दा बढी खर्च हुने हरियाली समुहले जनाएको छ ।

यता समुहबाट कालिज विक्री सुरु गरिएपछि बेनीको होटल याकले कालिजको सेकुवा, तास, सुप लगायत परिकार विक्री सुरु गरेको सञ्चालक बाबुराम आचार्यले बताउनुभयो । कालिजको परिकारका लागि होटलमा आउन थालेको सञ्चालक आचार्यको भनाई छ । कालिजको मासुले विभिन्न रोग निको हुने जनविश्वास रहेकाले होटल र ब्यक्तिगत रुपमै खरिद गर्न फार्ममा जाने गरेका छन् । हरियाली मोडेलको कृषि फार्ममा स्थानीय ३६ जना जग्गाधनी कृषक सहित ५५ जनाको पाँच करोड लगानीमा १५५ रोपनी जग्गामा कालिजका साथै कुखुरा, माछा, बोयर, तरकारी खेती गरिएको छ।