म्याग्दीमा बाढीपहिरो पीडितलाई म्याग्देली यूवा आवाजले साढे ८ लाख सहयोग गरेको छ । गएको असार महिनाको २५ गते यता लगातारको बर्षासँगै आएको बाढीपहिरोले जिल्लाका विभिन्न स्थानमा जनधनको क्षती पुगेपछि प्रवासमा रहेका केही म्याग्देली यूवाहरुको पहलमा विभिन्न समयमा साढे ८ लाख सहयोग हस्तान्तरण गरिएको हो ।

स्वदेश तथा विदेशमा रहेका म्याग्देली यूवाहरुले स्थापना गरेको संस्थामार्फत जिल्ला प्रशासन कार्यालयको विपद् ब्यवस्थापन कोषमा २ लाख, धवलागिरी गाउँपालिका–६, मराङमा साढे २ लाख, मालिका गापा–७ बिममा डेढ लाख, अन्नपूर्ण गापा–३ दानामा १ लाखका साथै मंगला गापाको पखेर, बेनपाको डम्बरा, पुलाचौरमा ९० हजार बराबरको सहयोग गरिएको आर्थिक सहयोग संकलन समितिका संयोजक दिनेशजंग कटुवालले बताए ।

उनले हरेक सहयोग हस्तान्तरणमा स्थानीय जनप्रतिनिधि सहित सरोकारवाला निकायको सहभागिता रहेको बताए । उनले राहत सहयोग अभियानमा बेनपा–४ सिँगा हाल आयरल्याण्ड बस्ने राज इन्द्रा पौडेल, अष्ट्रेलियामा हिक्मत श्रेष्ठको संयोजकत्वमा विशाल पौडेल बाबुराम शर्मा, जापानको आर्थिक संयोजक प्रकाश विश्वकर्मा, दुबई संयोजक प्रकाश शर्माले संकलन गरेको बताए ।

युवा शक्ति देशको मेरुदण्ड भएकाले समाजमा र देशमा युवा श्रम र युवा शक्तिको उचित मुल्यांकनको सम्मानमा समेत संस्थाले जोड दिने बताइएको छ । युवाहरूलाई जनजागरण गर्नु नै म्याग्देली युवा आवाजको लक्ष भएको आर्थिक संयोजक कटुवालले बताए । यसअगडी समेत संस्थाले विभिन्न सहयोग गरेको थियो ।

Leave a Reply