म्याग्दीको सदरमुकाम बेनीमा कोरोना बिरुद्ध समुदायस्तरमा विभिन्न रचनात्मक कार्यहरू गरिने भएको छ । कोभिड–१९ नियन्त्रण र रोगथामका सम्बन्धमा जारी सुरक्षा र जनस्वास्थ्य मापदण्ड कडाइ पुर्वक कार्यान्वयन गर्न बेनीबजारमा रहेका टोलसुधार समितिले आफ्नो टोलभित्र अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

म्याग्दी उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा टोलभित्र विभिन्न कार्यक्रम गर्ने निर्णय भएको बेनपा–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।  आफ्नो टोललाई कोरोना भाइरसबाट जोगाउन विभिन्न निर्णयहरू पूर्णरुपमा कार्यान्वयन गर्ने गरी काम गर्न टोलबासीले सहमत भएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

छलफलमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, उपमेयर सञ्जु बरुवाल, वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईली प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदी, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा लगायत टोलसुधार समितिका पदाधिकारीको उपस्थितीमा आयोजित कार्यक्रममा ९ बुँदे प्रस्ताव पारित गरिएको जनाइएको छ ।

टोल सुधार समितिले टोलछिमेकमा कोही अपरिचित मानिस देखिए तुरुन्त जानकारी गराउने, स्वयंमसेवक परिचालन गर्ने, टोलमा अन्य जिल्लाबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न लगाउने, कन्ट्रयाक्ट ट्रेसिङ्गमा परेका ब्यक्तिलाई तुरुन्तै सम्पर्कमा ल्याउने जस्ता कार्यहरु गरिने बिरेन्द्रचोक टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठले बताउनुभयो ।

छलफलमा प्रजिअ अधिकारीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले कालिपुल नाकामा कडाईसँगै जिल्ला प्रवेश गर्न अन्य सबै नाका सिल गरेपछिपनि जोखिम कायमै रहेको अवस्थामा  उच्च सर्तकता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्थानीयको साथ र सहयोग आवश्यकता रहेको बताउनुभयो । बेनी नगरका मेयर श्रेष्ठले टोलसुधार समितिको सक्रिता थप आवश्यक रहेको बताउँदै नगरभित्रका संघसंस्थालाई समेत कोरोना बिरुद्धको अभियानमा सहभागी बनाउने बताउनुभयो ।
यस्ता छन् निर्णयहरु

१. आफ्नो टोल क्षेत्र भित्र अन्य जिल्लाबाट, विशेष गरि देशका कोरोना प्रभावित ठाँउबाट आएका मानिसहरुलाई बाहिरको वा आफ्नै टोलको भएपनि होम क्वारेन्टाइनमा बस्न लगाउने ।
२. यदि टोलको कुनै व्यक्ति कन्ट्रयाक्ट ट्रेसिङ्गमा परेको भए निजलाई तुरुन्त सम्पर्कमा ल्याउने र क्वारेन्टाइनमा बस्न लगाउने ।
३. टोल छिमेकमा कोहि अपरिचित मानिस देखिए तुरुन्त जानकारी दिने ।
४. टोलमा स्वयंसेवक परिचालन गर्ने र आवश्यकता अनुसार स्वयंसेवक DCCMC लाई समेत उपलब्ध गराउने ।
५. आफ्नो टोल छिमेकमा मास्क अनिवार्य गर्ने, टोलमा कोरोना विरुद्ध अपनाउनु पर्ने सुरक्षा अपनाएको छ/छैन अनुगमन गर्न स्वयंसेवक परिचालन गर्ने । टोल, घर, पसलहरुमा भिडभाड कोरोना जित्नका लागि हुन नदिने, साबुनपानी र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्ने ।
६. ठुलो संख्यामा क्वारेन्टाइन राख्नु पर्ने अवस्था भएमा वा ठूलो संख्यामा आइसोलेसन आवश्यकता पर्ने भएमा आवश्यक सहजीकरण सहित सक्दो सहयोग गर्ने ।
७. टोल छिमेकमा कोही कोरोना प्रभावित भएमा वा होम क्वारेन्टाइनमा पुरै परिवार बस्नु पर्ने अवस्था भएमा, उक्त परिवार वा क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई आवश्यक खाना, औषधी लगायतको सहयोग गर्ने, निजहरुलाई आवश्यक खाद्यान्न सहित अत्यावश्यक वस्तुको व्यवस्थापनमा सहयोग गर्ने, लक्षण देखिई समस्या भएमा तुरुन्त अस्पताल वा तोकिएको व्यक्तिलाई खबर गर्ने ।
८. कोरोना संक्रमित व्यक्ति र उसको परिवारलाई माया गर्ने, हौसला दिने किनकी संक्रमण हुनु कुनै अपराध होईन । कोरोना जित्नका लागि टोलका मानिसको सहयोग नै संक्रमितका लागि साहस हुनेछ ।
९. टोलको कुनै क्षेत्रमा यदि क्वारेन्टाइन वा आइसोलेसन राख्नु पर्ने अवस्था आएमा सकारात्मक सहयोग गर्ने ।

Leave a Reply