यसवर्ष पटकपटक परेको अत्यधिक वर्षाका कारण गाउँ नै उच्च जोखिममा परेपछि सांसदसहितको एक टोलीले पहिरोको स्थलगत अवलोकन गरेको छ । म्याग्दीको बेनी नगरपालिका–१०, पात्लेखेतमा गएको पहिरोले गाउँ धरापमा परेको हुँदा शुक्रबार प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापा नेतृत्वको टोलीले पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेको हो ।

सांसद थापासहितको टोलीले वडाका जनप्रतिनिधि र पात्लेखेतका स्थानीयको सहयोगमा बान्द्रेखाल्टी तथा पाखाखेत पहिरोले पु¥याएको क्षति र असरको स्थलगत रुपमा अवलोकन गरेको जनाएको छ । पात्लेखेतमा पहिरोले ६५ घरधुरी जोखिममा परेका छन्भने तीमध्ये ५ घरधुरीका ३० जना विस्थापित भएका छन् ।

यसैगरी १९ घरधुरी पहिरोका कारणले गर्दा उच्च जोखिममा परेको स्थानीय केदारनाथ शर्माले जानकारी दिए।
पहिरोबाट विस्थापित हुनेहरुमा पात्लेखेतका लालबहादुर हमाल, हरि गर्बुजा, खम्बे गर्बुजा, यामबहादुर राम्जाली र गोरे रोका रहेका छन्भने उनीहरुमध्ये ३ परिवार छाप्रो बनाएर तथा २ परिवार आफन्तकोमा आश्रय लिएर बसेका छन् ।

यसैगरी अर्जुन पराजुली, धनबहादुर मल्ल, केदारनाथ शर्मा, त्रिविक्रम शर्मा, गोकुल शर्मा, निलकण्ठ जैसी, रामशरण रिजाल, यामबहादुर हमाल, ध्रुव हमाल, बुद्ध गिरी (सन्यासी), मनिराम रावत, ईन्द्रबहादुर रावत, प्रेम मल्ल, रामजी हमाल, चन्द्र शाही, हरि शाही, राजु शाही, कमल मल्ल र यामबहादुर रावतको घर पहिरोको उच्च जोखिममा परेको छ ।

पहिरोले स्थानीयको करिब ५ सय रोपनी खेतबारीसहित खाद्यान्न बाली र रघुगंगा सामुदायिक वन क्षेत्रको ४ हेक्टर जमिन समेत बगाएको छ भने वडा कार्यालय र दीपक माविको खेलमैदानमा बाढीले क्षति पु¥याएको स्थानीय केदारनाथ शर्माले बताए ।

पात्लेखेतमा रघुगंगा नदीको कटानले समेत असर गरेको स्थानीयको भनाइ छ । अहिलेको ठूलो वर्षाका कारण पाखाखेत र बान्द्रेखाल्टी पहिरोले १० रोपनी जग्गासहित मकै र कोदो बगाउनुका साथै घर उच्च जोखिममा परेको पात्लेखेतका पहिरोपीडित रामशरण रिजालले गुनासो गरेका छन् ।

बेनपा–१०, पात्लेखेतका कार्यवाहक वडा अध्यक्ष लोकबहादुर पुनले पहिरो रोकथाम र स्थानीयवासीको समस्या समाधानमा नगरपालिका, जिल्ला हुँदै प्रदेश र केन्द्रमा पहल गरिएको जानकारी दिए ।

म्याग्दी जिल्लामा बाढीपहिरोले धेरै ठाउँमा क्षति गरेको हुँदा पहिरोबाट विस्थापित नागरिकहरुको पुनर्वासका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले बताए ।

प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले विस्थापित परिवारलाई सरकारले घर बनाइदिने बताउँदै विस्थापितको तथ्याङ्क सङ्कलन तथा वस्ती स्थानान्तरणका लागि आवश्यक जग्गाको प्रवन्ध गरेर सिफारिस गर्न सुझाव दिएका छन् ।

पहिरो प्रभावित क्षेत्रमा संघीय सांसद थापासहित जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसी, नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ र कार्यालय सदस्य बालकृष्ण सुवेदीको उपस्थिति थियो ।

Leave a Reply