म्याग्दीका बाढीपहिरो पीडितलाई म्याग्दी समाज न्यूर्योक अमेरिकाले करिब ३० लाख आर्थिक सहयोग गरेको छ । गएको असार महिनाको २५ गते अविरल बर्षासंगै पश्चिम म्याग्दीको तीन स्थानीय तहमा बाढीपहिरोबाट ज्यान गुमाएकाको परिवार, घरसहित भत्किएर पूर्ण विस्थापित, सुत्केरी, घाईतेलाई गाउँपालिका प्रमुख, वडा अध्यक्षको उपस्थितिमा आर्थिक सहयोग हस्तान्तरण गरेको हो । अमेरिकाको न्यूर्योगमा बसोबास गर्ने म्याग्देलीहरूको साझा संस्था समाजले पूर्णरुपमा विस्थापित ९७ घरधुरी लाई प्रति घरधुरी २५ हजार, र ३१ जना मृतकलाई प्रति मृतकलाई १० हजार, १३ जना घाईते प्रति घाईते १० हजार र ४ जना सुत्केरी महिलालाई १० हजारको दरले सहयोग हस्तान्तरण गरिएको समाजका म्याग्दी प्रतिनिधि पूर्णबहादुर पुनले जानकारी दिनुभयो ।

‘सहयोग पीडितकै हातमा हस्तान्तरण गरिएको छ,‘सहयोग वितरण कार्य जारी नै छ’ पुनले भन्नुभयो । पश्चिम म्याग्दीमा बाढीपहिरोबाट केही घर थपिएकाले समाजमा जानकारी समेत गराइएको छ ।

समाजमार्फत प्राप्त सहयोग मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन मगर, उपाध्यक्ष रेशम छन्त्यालमंगला–५ का अध्यक्ष भुपेन्द्रबहादुर क्षेत्री, मालिका–५ की अध्यक्ष पिपला बुढा, वडा नंं ६ का अध्यक्ष सन्तनाथ सुबेदी, वडा नं ७ का अध्यक्ष रेशमबहादुर जुग्जाली, धवलागिरी गापा–६ का अध्यक्ष राजाराम सुबेदी,वडा नं ७ का अध्यक्ष कलानिधि सुबेदीमार्फत हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्ने जनप्रतिधिले ब्यक्तिगत रुपमा प्राप्त सहयोगले पीडितलाई राहत मिलेको बताउँदै पूर्नवास अभियानमा समेत सहयोग गर्न अनुरोध गर्नुभएको थियो । कार्यक्रममा म्याग्दी समाज न्यूर्योक अमेरिकामार्फत हालसम्म गरिएका गतिविधि सहित अध्यक्ष भविन्द्र शेरपुञ्जाको सहयोग संकलन सहित हस्तान्तरणका बारेमा प्राप्त सन्देश समेत सुनाइएको थियो । संस्थामार्फत उत्तरी क्षेत्रको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका बाढीपहिरो पीडितको नाममा समेत सहयोग जुटाइएको समाजका सचिव याम पुनले जानकारी दिनुभयो ।

बाढीपहिरोबाट विस्थापित भएलाई समाजको तर्फबाट रमेश तुलाचनको संयोजक र मन प्रसाद रोका सहसंयोजक रहेको राहत संकलन समिति समेत गठन गरिएको थियो ।सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन पत्रकार हरिकृष्ण गौतमलेगर्नुभएको थियो भने ब्यवस्थापनमा रेशम पुनमगर, पत्रकार धुब्रसागर शर्मा लगायतको उपस्थिति रहेको थियो ।

विज्ञापन