अमेरिकाको न्यूयोर्कस्थित क्वीन्स ब्रिज पार्कमा आयोजित भलिबल प्रतियोगिता म्याग्दी समाज न्यूर्योकले जितेको छ ।

धनकुटा स्थायी घरभई हाल बिगत डेढ वर्षदेखि काठमाण्डौमा उपचारर्थ ४९ वर्षीय भलिबल खेलाडी बिरबहादुर लिम्बूको उपचारमा सहयोग जुटाउन न्यूयोर्क सहरका चर्चित मोडल, नायक एवं डिजे एलएस उर्फ जाङ्बु शेर्पाको आयोजनामा आयोजित प्रतियोगितामा सिन्दु समाजलाई उपविजेतामा सिमित राख्दै म्याग्दी समाजले उपाधी जितेको हो ।

विभिन्न नेपाली संस्थाका १६ टिमको सहभागिता रहेको प्रतियोगितामा उपाधीसँगै पन्ध्र सय डलर, मेडल र ट्रफी समेत हात पारेको छ।प्रतियोगितामा म्याग्दी समाजका दुई र भकिम्ली गरी म्याग्दीबाट तीन टिमले प्रतिस्पर्धा गरेको समाजका सचिव याम पुनले बताए। प्रतियोगितामा उत्कृष्ट लिफ्टर टिम क्याप्टेन हरि राना र स्पाइकर अमृत जुग्जाली घोषित भएका थिए ।

म्याग्दीमा बाढीपहिरो, विभिन्न मानवीय सेवामा समेत सक्रिय रहेको संस्थाले विगतमा चर्चित नेपाली प्रतियोगितामा समेत भलिबलको उपाधी हात पारेको थियो । प्रतियोगितामा एभरेष्ट, माछापुछ्रे, धौलागिरी र कञ्चनजंगा समूहमा ४÷४ टिम बिभाजित गरी बिभिन्न १६ टिमहरु वीच ३१ खेल खेलाईएको थियो ।

यता प्रतियोगितामा विजेता भएको म्याग्दी समाजलाई अध्यक्ष भविन्द्र शेरपुञ्जाले बधाई दिदैं खेल र सामाजिक कार्यमा सँगसँगै जाने प्रतिबद्धता जनाएका थिए । समाजले जन्म जिल्ला म्याग्दीमा हरेक बर्ष विभिन्न कार्यक्रम गदैं आइरहेको छ ।

विज्ञापन