दक्षिण कोरियामा मृत्यु भएका दुई म्याग्देलीको अन्त्येष्टी गरिएको छ । रोजगारको सिलसिलामा लामो समय कोरियामा रहेका अन्नपूर्ण गाउँपालिका-५ शिख स्वाँतका डम्बर बहादुर गर्बुजा र रघुगंगा गाउँपालिका–६ कोटगाउँका जसबहादुर पुनको सेजोग सिसल खोगथाङ्मा आफन्तको उपस्थितीमा अन्त्येष्टी गरिएको हो । अवैधानिक बसोबास गरेका दुई म्याग्देलीको उपचारको क्रममा मृत्यु भएपछि शव अस्पतालमै अड्किएको थियो । लामो समयसम्म परिवारको सम्पर्कमा समेत नभएका कारण पहिचानमा समस्या भएपनि विभिन्न माध्यमबाट आफन्त सम्पर्कमा आएपछि परिवारको स्वीकृति, वडाबाट नाता प्रमाणित सहितको कागजात सहित कानुनी प्रक्रिया पुरा गरी अन्तेष्टी गरिएको मोना दक्षिण कोरियाका अध्यक्ष सुनेश खत्री क्षेत्रीले बताए।

रोजगारको क्रममा मृत्यु भएका म्याग्देलीको शव नेपाल पठाउन कोरियामा रहेका म्याग्देलीले आर्थिक सहयोग जुटाउने गरेका छन्। एक महिना अगाडि कोरियामै मृत्यु भएका एक म्याग्देलीको शव कम्पनीले ब्यवस्था गरी नेपाल पठाएको थियो।

विज्ञापन