बाढी पहिरोबाट विस्थापित म्याग्देलीको पुर्नवासमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । गएको असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका(६, मराङ र मालिका(७, बिम सहित जिल्ला विभिन्न स्थानमा बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नवास अभियानमा उक्त सहयोग गरेको हो ।

मोना आइइसी मार्फत भइरहेको आर्थिक सहयोग संकलन अभियानमा मोना दक्षिण कोरियाका अध्यक्ष सुनेश केसीका दाजु दिनेश केसीले बेनीस्थीत मोनाको सचिवालयमा निवर्तमान अध्यक्ष चक्रबहादुर थापा, मोना आइईसीका संरक्षक सुवास कुमार श्रेष्ठ,

म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल ,परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यको उपस्थितीमा हस्तान्तरण गरिएको मोना सचिवालयकी स्तुती सुवेदी श्रेष्ठले बताउनुभयो ।

मोना आपतकालिन राहत कोषमा अहिलेसम्म दुई करोड रुपैयाँ बढी रकम संकलन भएको निवर्तमान अध्यक्ष थापाले बताउनुभयो ।

यता बाढी पहिरोबाट विस्थापितलाई मोनाले विश्वभर रहेका राष्ट्रिय समितिमार्फत एकद्धार प्रणालीबाट सहयोग जुटाएर पुर्नवास अभियान सञ्चालन गरिरहेको मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले बताउनुभयो ।

‘पुर्नवास अभियानलाई उपयुक्त समयमा सुरु गछौं,‘सबैतिरबाट सहयोग जुट्दै छ,‘मोनाले पीडितलाई सुन्दर घर दिन्छौ’ जुग्जालीले भने । उनका अनुसार घरको मोडेल सहित लागत अन्य विषयमा तयारी भइरहेको बताए ।

मोनाको अभियानमा विश्वभरबाट सहयोग जुट्ने क्रम रहेको महासचिव विक्रम कार्कीले बताए । उनका अनुसार सहयोग अभियान सम्पन्न भएपछि विवरण सार्वजकि गरिने बताए । यसबर्ष म्याग्दीका सबैजसो स्थानीय तहमा बाढीपहिरोबाट विस्थापित भएका छन् । मोनाले जिल्लाभर विस्थापितको स्थानीय सरकार, सरोकारवाला निकायसँग समन्वय गरी घर बनाउन सघाउने छ ।

विज्ञापन