प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी काेराेना महामारीका दुष्प्रभाव छिचोलेर सुखी जनजीवन र समृद्ध राष्ट्र निर्माणको अभिभारा पूरा गर्न अग्रसर रहेकाे बताउनुभएकाे छ ।

काठमाडाैँ उपत्यकामा प्राचीन कालदेखि मनाइँदै आएको इन्द्रजात्रा पर्वका अवसरमा शुभकामना सन्दैश दिनुहुँदै उहाँले उक्त कुरा बताउनुभएकाे हाे ।

 

‘अन्तरसाँस्कृतिक सद्भावको समुन्नत सन्देश प्रवाह गर्ने यस्ता पर्वहरु हाम्रा साँसकृतिक पूँजी हुन्,’ उहाँले भन्नुभएकाे छ, ‘सानो भूगोल भए पनि यहाँ बहुजातीय, बहुसाँस्कृतिक, बहुभाषिक र बहुधार्मिक अनुपम विशेषतायुक्त चाडपर्वहरु छन् । ती सबै पर्वहरु हामीलाई एक आपसमा जोड्ने साँस्कृतिक पूँजी हुन् । विभिन्न जाति, समुदाय र भूगोलमा बसोवास गर्ने नेपालीहरुले मनाउने यस्ता चाड पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधेका छन् ।’

सरकारले यस्ता साँसकृतिक पर्वहरुको संरक्षण र सम्वद्र्धन गर्ने नीति लिएको  बताउँदै प्रधानमन्त्री ओलीले नेपालीहरु बीचको यस्तो एकतालाई कमजोर पार्न विभिन्न समयमा भएका दुष्प्रयासलाई यही साँस्कृतिक आलोकमा परास्त गर्दै आएकाे दाबी गर्नुभयाे ।

यतिबेला हामी मुलुकको आर्थिक विकास र समृद्धिको अभियानमा रहेकै समयमा विश्वब्यापी महामारी कोभिड– १९ सामना गरिरहेकाे उल्लेख गर्दै उहाँले भन्नुभएकाे छ, ‘यसले हाम्रो स्वास्थ्य र आर्थिक तथा सामाजिक जीवनमा अकल्पनीय दुष्प्रभाव पारेको छ । समृद्ध नेपाल–सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षामा यसले केही अवरोध गरेको छ । यस महामारीका दुष्प्रभावहरुलाई छिचोलेर सवल राष्ट्रिय अर्थतन्त्र, सुखी जनजीवन र समृद्ध राष्ट्र निर्माणको अभिभारा पूरा गर्न हामी अग्रसर छौं ।’

साथै महामारीबाट सुरक्षित हुँदै राष्ट्रको यस आकाङ्क्षालाई पूरा गर्ने सरकारको अग्रसरतामा साथ दिन उहाँले अनुराेध समेत गर्नभयाे ।

Leave a Reply