म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरमा खेलमैदानमा प्याराफिट निर्माण गरिएको छ ।  खेलमैदानको डिलतर्फ ६० मिटर लम्बाई र ४ मिटर चौडाई भएको प्याराफिट लगायतको पूर्वाधार निर्माण गरिएको हो ।

प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाको पहलमा क्षेत्रीयस्तरको खेलमैदान बनाउने उद्देश्यका साथ युवा तथा खेलकुद मन्त्रालयको विनियोजित पचास लाख बजेट र स्थानीयको ६ लाख बराबरको श्रमदानमा  प्याराफिट माथि करिब १० फिट अग्लो तारजाली समेत लगाएको उपभोक्ता समितिका अध्यक्ष गणेश बोगटीले बताउनुभयो।

‘डिपिआर अनुसारकै संरचना बनाइरहेका छौ,‘खेलमैदानभित्र आवश्यक पर्ने पूर्वाधार धमाधम थपिदैछ’ बोगटीले भन्नुभयो ।

क्षेत्रीयस्तरको खेलमैदानका लागि प्रतिनिधिसभा सदस्य थापाको भूमिका रहेको बताउँदै ५ करोडको डिपिआर अनुसार मन्त्रालयबाट थप प्याराफिट, खेलमैदानका अन्य संरचनामा बजेट ल्याउन पहल गरिरहनुभएको अध्यक्ष बोगटीको भनाई छ ।

मिनी रंगशाला बनाउन स्थानीयले समेत श्रमदान गरेका छन् । कोरोनाको जोखिमको बीच उपभोक्ता समितिले स्थानीय मजदुरको प्रयोग गरी प्याराफिट निर्माण गरेको थियो । खेलमैदानभित्र फुटबल, भलिबल, एथलेटिक्स लगायतका विभिन्न खेलहरु सञ्चालन गर्न मिल्छ ।

म्याग्दीको सदरमुकाम बेनीपछि सबैभन्दा धेरै खेलकुद गतिविधि हुने खेलमैदान समेत रहेकाले भविस्यमा क्षेत्रीय र जिल्लास्तरीय प्रतियोगिता समेत सञ्चालन गर्न सकिने भानु माविका प्रधानाध्यापक भरत खत्रीले बताउनुभयो ।

उहाँका अनुसार खेलमैदानमा छिमेकी बागलुङ जिल्लाबाट समेत नियमित खेलाडीहरु आउने गरेका छन् भने स्थानीय क्लवले समेत हरेक बर्ष प्रतियोगिता सञ्चालन गर्ने गरेको छ ।

खेलकुद मैदानमा बेनी नगरपालिका, वडामार्फत समेत विगतमा बजेट विनियोजन भएको थियो भने स्थानीय यूवाहरुले मैदान सम्माउने, सरसफाई लगायतका गतिविधि गर्ने गरेका थिए ।

खेलमैदान २ सय मिटर लम्बाई र ११० मिटर चौडाई भएको खेलमैदानमा खेलकुद विधामा नेपालभित्र प्रयोग हुने अधिकांस खेल सञ्चालन गर्न सकिने बताइएको छ । यता म्याग्दीको सदरमुकाम बेनीमा समेत खेलमैदानको प्याराफिट लगायतका संरचना धमाधम निर्माण भइरहेको छ । तस्वीर सौजन्य सुजन थापा

विज्ञापन