म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका वडा नं ३ धम्जाको शीरमा अवस्थित पर्यटकीय स्थल बेलढुंगाका भत्किएको छ ।

आन्तरिक पर्यटकहरुका लागि प्रकृति दर्शनको उत्कृष्ट स्थान बन्दै गएको समुद्री सतहदेखि २ हजार ६ सय १८ मिटरको उचाइमा रहेको बेलढुङ्गाको गएराती करिब ९ बजेतिर भत्किएको हो ।

‘चट्टान फुटेर काम नलाग्ने भएको छ,‘भकिम्लीको एउटा सम्भावनायुक्त पर्यटकीयस्थल तहसनहस भयो’भकिम्लीका अगुवा पृथिबहादुर पुनले भन्नुभयो ।

उहाँका अनुसार गाउँबाट हेर्दा समेत प्रष्ट देखिने अवस्थामा रहेकाले यूवा सहित स्थानीय जनप्रतिनिधिहरु समेत त्यसतर्फ लागेको बताउनुभयो ।

बि.स २०७२ बैशाखको महाविनाशकारी भूकम्पबाट समेत जोगिएको चट्टालाई केन्द्रित गरी भकिम्ली र बागलुङको धम्जा विच बेलढुङ्गामा विकासका पूर्वाधारहरु निर्माण गर्न होडबाजी नै चलेको थियो ।

अक्करे भीरमा बुट्यान र लहरामा झुण्डिदै बेलढुङ्गाको फेददेखि शिरसम्म पुग्न निकै दुःख हुने गरेको अवस्थामा सुविधायुक्त सिंढी (पदमार्ग) बनेपछि आन्तरिक पर्यटकको समेत घुईचो लाग्ने गरेको थियो ।

सिमा क्षेत्रमा रहेको पर्यटकीयस्थलमा बेनपा–३ भकिम्लीका अध्यक्ष पदम पुन, काठेखोला गाउँपालिका ३ धम्जाका वडाअध्यक्ष यामबहादुर श्रीषको सक्रियता र स्थानीयको साथले सडक सञ्जाल, पदमार्ग सहित सामुदायिक भवन, प्रतिक्षालय लगाएतका संरचना बनाउने काम भइरहेको अवस्थामा बेलढुंगा नै भत्किएपछि स्थानीय निरास भएका छन् ।

बेलढुङ्गाबाट अन्नपूर्ण र धौलागिरि रेञ्जका १२ ओटा हिमश्रृङ्खला,म्याग्दी नदी, कालीगण्डकी सहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य,साविकको धौलागिरि अञ्चलका चारवटै जिल्लाका तीन दर्जन बढि गाउँहरु,बनजङ्गल,जंगली जनावर र पंक्षीका साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिन्छ ।

बेलढुङ्गा प्राकृतिक सौन्दर्यावलोकनका लागि मात्रै होइन आध्यात्मिक चिन्तनका लागि पनि उपयुक्त स्थान मानिन्छ । भकिम्लीको स्वर्गाश्रमबाट करिब एक घण्टाको उकालो छिचोलेपछि बेलढुङ्गा पुग्ने मार्ग समेत निकै आर्कषक बनिरहेको थियो । बेलढुंगाको क्षतीको बारेमा थप जानकारी प्राप्त भएको छैन् । file photo

विज्ञापन