म्याग्दीका बाढीपहिरो पीडितलाई अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने म्याग्देलीले संकलन गरेको झण्डै साढे ३४ लाख नगद सहयोग गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) कोमहामारीको कारण विश्व नै आक्रान्त बनिरहेका बेला जन्मभूमिमा प्राकृतिक विपत्तीमा परेर जनधनको क्षतीसँगै ठूलो संख्यामा विस्थापित भएपछि राहत जुटाएको म्याग्दी समाज न्यूयोर्क अमेरिकाले जिल्लाभरका बाढीपहिरो पीडितलाई एकसातामा ३४ लाख ४५ हजार सहयोग गरिएको हो ।

Badhi pidit Myagdi

गएको असार महिनाको २५ गते पश्चिम म्याग्दीको धवलागिरी, मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकामा बाढीपहिरोमा ज्यान गुमाएकाको परिवार,घाईते,सुत्केरी र पूर्णरुपमा विस्थापित भएकालाई स्थानीय तहका जनप्रतिनिधिको उपस्थितीमा हातहातमै आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो ।

जिल्लाभर स्थानीय तह र प्रहरीले उपलब्ध गराएको विवरणको आधारमा म्याग्दी समाज न्युयोर्कले धवलागिरीमा मृतक र घाईते र चार जना सुत्केरीलाई २ लाख ८० हजार, पूर्ण रुपमा क्षती भएका ४४ घरपरिवारलाई ११ लाख सहयोग गरिएको छ। त्यस्तै मालिका गाउँपालिकामा मृतक र घाईते ७० हजार, पूर्ण क्षती ५३ घरधुरीलाई १३ लाख २५ हजार सहयोग गरिएको छ । मालिका–७, बिममा एकै परिवारका सबै सदस्यको मृत्यु भएकाले उक्त आर्थिकलाई विस्थापितलाई दिइएको समाजका म्याग्दी प्रतिनिधि पूर्णबहादुर पुनले बताए ।उनका अनुसार सहयोग हस्तान्तरणको क्रममा मंगला गाउँपालिकामा १५ घरधुरीलाई ३ लाख ७५ हजार, रघुगंगा गाउँपालिकामा मृतक ३ जनालाई ३० हजारका साथै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका मृतक २ र १ जना घाईतेलाई ३० हजार र पूर्ण क्षती भई विस्थापित भएका १९ जनालाई २ लाख ३५ हजार सहयोग हस्तान्तरण गरिएको जनाइएको छ ।समाजमार्फत पूर्णरुपमा विस्थापितलाई प्रति घरधुरी रु २५ हजार, प्रति मृतक १० हजार, १३ जना घाईतेलाई प्रति घाईते १० हजार र ४ जना सुत्केरी महिलालाई १० हजारको दरले सहयोग गरिएको थियो ।सहयोग हस्तान्तरणको मापदण्डमा एकै परिवारमा दुई जनाले ज्यान गुमाएकालाई १५ हजार, ३ जनालाई २० हजार र ४ जनालाई २५ हजार नगद सहयोग गरिएको थियो ।

मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, मालिका गापाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमायाँ विटालु, धवलागिरी गापा अध्यक्ष थमसरा पुन मगर, उपाध्यक्ष रेशम छन्त्याल, अन्नपूर्ण गापा अध्यक्ष डम बहादुर पुनका साथै विस्थापित भएका वडाका वडा अध्यक्ष सहित जनप्रतिनिधि, स्थानीय अगुवा लगायतको उपस्थिति रहेको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिले एउटा संस्थामार्फत जिल्लाभरका बाढीपहिरो विस्थापितलाई गरेको सहयोगबाट उत्साहित भएको बताएका थिए ।ब्यक्तिगत रुपमा प्राप्त सहयोगले पीडितलाई राहत मिलेको बताउँदै पूर्नवास अभियानमा समेत सहयोग गर्न अनुरोध गरेका थिए । सहयोग रकम प्राप्त गरेका बाढी पहिरो पीडितहरुले सहयोगदाताहरुलाई धन्यवाद दिँदै रकमले तत्कालको समस्या समाधानका लागि ठूलो राहत भएको बताउँदै सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।समाजका उपाध्यक्ष रमेश तुलाचनको संयोजकत्व र मनप्रसाद पुन उपसंयोजक रहेको समितिमार्फत आर्थिक सहयोग संकलन गरिएको संस्थाका सचिव याम पुनले जानकारी दिए ।

संस्थागत गतिविधिमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने सम्पूर्णलाई अध्यक्ष भविन्द्र शेरपुञ्जाले धन्यवाद ज्ञापन गदैं भविस्यमा विभिन्न कार्यक्रममार्फत जन्मभूमीको सेवा गर्ने प्रतिबद्धता ब्यक्त गरे । म्याग्दीमा एउटै संस्थाले जिल्लाभरका बाढीपहिरो पीडितलाई ठूलो सहयोग गर्नेमा म्याग्दी समाज देखिएको छ ।

विज्ञापन