खोज,अनुसन्धान र आविष्कारको कार्यमा सक्रिय महाविर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि पछिल्लो पटक अर्को एउटा महत्वपूर्ण चिजको आविष्कार गरेको छ ।

मेडिकल ड्रोन,बादर धपाउने मेसिन लगाएतका विभिन्न महत्वपूर्ण चीजहरुको आविष्कार गरिसकेको आविष्कार केन्द्रले अहिले कोरोना संक्रमितलाई अस्पतालमा पु¥याउने बाकस निर्माण गरेको हो ।
माक्स, पीपीइ, स्वाब संकलन गर्ने सुइरो लगायतका कोभिड १९ का लागि उपयोगि सामग्री निर्माण गरेको केन्द्रले अहिले पुनः कोरोना संक्रमितहरुलाई अस्पतालसम्म सुरक्षित रुपमा लैजाने बाकस निर्माण गरेको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ ।

त्यसैगरी बिरामीसँगै एम्बुलेन्समा रहने स्वास्थ्यकर्मी र चालकलाई कोरोना संक्रमणबाट जोगाउन यस्तो बाकस डिजाइन गरिएको आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जनाएका छन् ।

आविष्कार केन्द्रका संस्थापक पुनले बाकसको डिजाइन, विकास र परीक्षणको काम पुरा भएको जानकारी दिएका हुन् । उनका अनुसार यो बाकसमा बिरामी राखेपछि हावा छिर्न नसक्ने चेन लगाएर बन्द गरिन्छ ।

बाहिरको हावा भित्र पठाउन प्वाल राखिएको छ भने भित्रको हावा बाहिर फ्याल्ने अर्को प्वालमा एन ९५ फिल्टर राखिएको छ । जसले गर्दा बिरामीको मुख र नाकबाट निस्किने हावालाई फिल्टर गरेर बाहिर पठाउन सकिने पुनको भनाइ छ ।

बाकस भित्र हावा पठाउन र भित्रको हावा बाहिर फ्याल्न ब्याट्रीबाट चल्ने पंखा राखिएका छन् । बाकसलाई नेगेटिभ प्रेसर च्याम्बरको रुपमा डिजाइन गरिएको छ । अबको केहीदिनभित्रै कोभिडको उपचार गर्ने अस्पतालहरुलाई यो बाकस उपलब्ध गराइने पुनले जनाएका छन ।

म्याग्दीको नागीमा जन्मेर चितवनमा अध्ययन गरेका पुनले म्याग्दीमा सवैभन्दा पहिला विकट गाउँहरुमा वायरलेस इन्टरनेट सेवा समेत पु¥याएर प्रविधिको क्षेत्रमा अघि बढेका थिए । पुनले म्याग्दीमा ई– एजुकेशन र ई–मेडिसिन सेवा पनि शुरु गरेका हुन् ।पुन एशियाको नोवेल पुरस्कार भनिने रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित भएका थिए ।

विज्ञापन