म्याग्दीको सदरमुकाम बेनी आसपासका हुने अनियमित विद्युतको समस्या समाधान गर्न छुट्टै लाइन विस्तारको काम सुरु भएको छ ।

मिलनचोक सबस्टेशनको ११ केभि क्षमताको प्रशारण लाइनबाट करिब ९५ लाखको टेन्डरमार्फत लाइन विस्तारको काम भइरहेको प्राधिकरण बेनी वितरण केन्द्रले जनाएको छ ।

बि.स ०६२ सालदेखि तीनवटा फिडरबाट सेवा दिइरहेको अवस्थामा छिनछिनमा विद्युत जाने समस्याले उद्योगव्यवसाय लगायत सर्वसाधारणले सास्ती खेपिरहेको अवस्थामा पञ्चासेसिद्ध बाबा निर्माण सेवामार्फत काम भइरहेको प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख माधब महतले बताउनुभयो।

उहाँका अनुसार मिलनचोकदेखि करिब४.५० किलोमिटरको दुरीसम्म नयाँ लाइनमा १ सय ४० पोल,१९ किलोमिटर तार प्रयोग गरिन्छ ।

उक्त लाइन हाल प्रयोगमा रहेको ट्रान्सफर्मरमा जडान गरिने छ । ‘दु्रत गतिमा काम भइरहेको छ,‘ बजार क्षेत्रमा ट्रिपिङ्गको समस्या धेरै समाधान हुन्छ’ महतले भन्नुभयो ।ठेकेदारमार्फत १० देखि १५ जना कामदार परिचालन गरी काम भइरहेकाले आवश्यकता अनुसार जनशक्ती थप गर्न समेत निर्देशन दिएको केन्द्र प्रमुख महतको भनाई छ ।

बजार क्षेत्रमा करिब ४ हजारको हाराहारीमा ग्राहक छन् भने अघोषित लोडसेडिङका कारण म्याग्दीमा बैंक तथा वित्तीय संस्था, छापाखाना, विद्युतीय सञ्चार माध्यय, फर्निचर, ग्रिल उद्योगसँगै विद्युतीय उपकरणद्वारा सञ्चालित व्यवसाय प्रभावित हुने गरेको छ ।

बजार बाहेक ग्रामिण क्षेत्रको समस्या समाधान गर्ने गरी पश्चिम म्याग्दीको सवस्टेशनको बाँकी काम एकबर्ष भित्र सम्पन्न गर्ने गरी प्राधिकरणमार्फत सम्बन्धित निकायमा जानकारी गराइएको छ ।

सवस्टेशनबाट एक केभी बराबर ११ किलोमिटरसम्म विस्तार गर्नुपर्नेमा म्याग्दीमा एक केभी बराबर करिब ५० किलोमिटर सम्म लाइन विस्तार गरिएकाले प्राधिकरणको सेवाबाट उपभोक्ता सन्तुष्ट हुन सकेका छैनन् । पर्वतको मिलनचोक सबस्टेशनबाट पर्वत जलजला, रत्नेचौर क्षेत्रमा १ र बेनीबजार सहित पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकासम्म १ र उत्तरी म्याग्दी क्षेत्रको रघुगंग र अन्नपूर्ण गाउँपालिका १ गरी तीनवटा फिडर रहेको छ ।

विज्ञापन