नेपाल बैंक म्याग्दी शाखामा सुरक्षा गार्डको रुपमा कार्यरत बेनी नगरपालिका-६ जरबुटाका यूवा नारायण जिसीलाई भ्याईनभ्याई छ। दिउँसो बैंकको जागिरमा ब्यस्त हुने जिसीले विहान-बेलुकी पशुपालन र तरकारी खेतीबाट रहरलाग्दो आम्दानी गरिरहेका छन् ।

वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक कृषि फार्म सञ्चालन गरेर स्वरोजगार बनेका जिसीलाई विहानैदेखि रातीसमम फुर्सद छैन् । घर नजिकै माछा पोखरी, तरकारीको टनेल, भैसी र कुुखुरापालन गरेका जिसीले मासिक खर्च कटाएर ८० हजारसम्म बचत हुने जिसीले बताउनुभयो ।

‘बैंकको जागिरबाट सन्तुष्ट मिलेको छ,‘कृषि र पशुपालनबाट कमाई भइरहेको छ’ जिसीले भन्नुभयो । तरकारीखेती, भैँसी र कुखुरापालन गरेर राम्रो आम्दानी गर्न सफल ३१ बर्षिय जिसीले चारबर्ष अगाडी २ लाख लगानीबाट सुरू गरेको कृषि र पशुपालनमा अहिले १५ लाखभन्दा बढी लगानी भइसकेको छ।

‘बैंकबाट आउने तलब बराबर दुध बेचेरै कमाउँछु,‘तरकारी खेतीबाट सोचेजस्तै आम्दानी भइरहेको छ’ जिसीले भन्नुभयो ।

पाँच रोपनी खेतमा गोलभेँडा, बन्दा, काउली, काँक्रो, सिमी, बोडी, सागलगायत मौसमी तथा बेमौसमी तरकारीखेती, साढे ८ सय कुखुरा, दुईवटा माछाको पोखरी छन् । दूध बिक्रीबाट मात्र मासिक ३० हजारदेखि ३३ हजारसम्म आम्दानी हुने जिसीको भनाइ छ । दिउँसो जागिरमा जानुपर्ने भएकाले दैनिक ज्यालामा पाँचजनासम्म मजदुरलाई रोजगारी समेत दिनुभएका जिसीले दूध र तरकारी ढुवानी समेत आफै गर्नुहुन्छ ।

फार्मको क्षमता विस्तार र तरकारीका बिरुवा उत्पादन गर्ने नर्सरी पनि सञ्चालन गरेका जिसीले भविस्यमा थप जग्गामा तरकारी सहितका कृषि खेती विस्तार गर्ने योजना छ । तरकारी खेतीमा जिसीलाई बुबा–आमा र श्रीमतीले सघाउँदै आएका छन् ।

खानेपानीको समेत राम्रो सुविधा नभएको पाखाको वस्तीमा बेमौसमी तरकारी खेती गर्दा धेरैले उडाउने गरेकोमा बाँझो बारीबाटै राम्रो कमाई हुन थालेपिछि जिस्काउने, खिल्ली उडाउनले समेत प्रशंसा गर्न थालेको जिसीको भनाई छ ।

भिरालो जमिनमा रहेको खेतका गह्रामा लटरम्मै टमाटर,साग,काउली,बन्दा,केराउ र काँक्रा फलेको देख्दा पहिले खिल्ली उडाउनेले समेत प्राविधिक सहयोग माग्न आउने गरेका छन् । यूवालाई सीप र जाँगर भए गाउँमै राम्रो आम्दानी हुने भएकाले कोरोनाको जोखिममा घर छोडेर आएकालाई गाउँमै कृषि, पशुपालन सुरु गर्न समेत जिसीको सुझाव छ ।

विज्ञापन