यूवामार्फत गाउँमा अभियान सञ्चालन गर्न रघुगंगा गाउँपालिका-१ बेगखोलाका यूवाहरूको भेलाले मासिक एक यूवा एक सय रुपैयाँ संकलन गर्ने अभियान सुरू गरेका छन् ।

वडाभित्रका यूवा क्लवमा आवद्ध यूवाहरूको भेलाले गठन गरेको यूवा जागरण अभियान समितिमार्फत गरिने रचनात्मक अभियानमा यूवामार्फत संकलन गरिएको आर्थिकले कोष समेत स्थापना गरिएको छ ।

कोषमा पहिलो दिनमै ६७ सय नगद जम्मा भएको छ । वडा अध्यक्ष बिलबहादुर फगामीको अध्यक्षतामा भएको भेलाले बेगखोला यूवा क्लब बेग, पार्बती यूवा क्लब बेग सिमफाँट र लालिगुँरास यूवा क्लब बाँदुकका यूवाहरुले वडाभित्रका अभियानलाई सफल बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।

अभियानमार्फत प्रत्येक महिनाको १५ गते बैठक, भेला गर्ने, उपस्थित हुन नसक्नेले पूर्व जानकारी दिने, मध्यपान, धुम्रपानलाई निरुत्साहित गर्ने अभियान सञ्चालन गर्ने, कोषमा ब्यक्तिगत सहयोगलाई समेत जम्मा गर्न सुरू गरिएको स्थानीय पत्रकार दलप्रसाद तिलिजाले जानकारी दिनुभयो ।

प्रत्येक टोलमा यूवा जनचेतना तथा जागरण अभियान सञ्चालन गर्ने, गाउँको विकास निर्माण, सामाजिक लगायतका गतिविधिको मुल्याङ्कन गर्ने, अगुवाहरुको सुझाव अनुसार अगाडी बढ्ने, प्राकृतिक विपत्तीमा परेको उद्धारमा फ्रन्टलाइनमा खटिने लगायत विभिन्न एजेण्डमा छलफल गरी कार्ययोजना बनाइएको वडा अध्यक्ष फगामीले बताउनुभयो ।

‘यूवा समाजका मेरुदण्ड हुन्,‘बेगखोलामा यूवामार्फत विभिन्न कार्यक्रम गर्दछौ’ अध्यक्ष फगामीले भन्नुभयो । यूवाको भेलामा रचनात्मक गतिविधिलाई प्रोत्साहन गरिने भएकाले वडाले समेत आवश्यकता अनुसारको बजेट विनियोजनमा सघाउने तथा स्वदेश तथा विदेशमा रहेका बेगबासीबाट समेत कोषमा रकम जम्मा गरिने वडा अध्यक्ष फगामीको भनाई छ ।

यसैबीच यूवाहरुले पुल देखि माथी सिमेन्टी पदमार्गको सरसफाई, विद्युतको लाइनको तार नजिकै रहेको हाँगा कटान लगायतका कामबाट अभियान सुरु गरेका छन् ।

विज्ञापन