रोजगारको सिलसिलामा बहराइनमा पुगेका एक म्याग्देलीले आत्महत्या गरेका छन् । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७,हिलापोखरीका डेक बहादुर सेन ठकुरी झुण्डिएको अवस्थामा मृत फेला परेको त्यहाँ कार्यरत म्याग्देलीले बताएका छन् ।

जोहाल कन्ट्रक्सन कम्पनीमा कार्यरत ठकुरी सोमबार दिउँसो कम्पनीभित्रको पंखामा डोरीले पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको मोना बहराइनका अध्यक्ष लोक राम्जालीले बताउनुभयो ।

‘आत्महत्या गरेको खवर प्राप्त भएको छ,‘थप जानकारी लिने प्रयास भइरहेको छ’ राम्जालीले भन्नुभयो । कोरोना संक्रमणको आशंकामा कम्पनीकै क्वारेन्टाइनमा बसेपनि पिसिआर नेगेटिभ आएपछि कम्पनीको नियमित काममा फर्किएको अध्यक्ष राम्जालीको भनाई छ । मृतक ठकुरीको शव पोष्टमार्टमका लागि अस्पतालमा लगिएको छ । कम्पनीको क्वारेन्टाइनबाट फर्किएका ठकुरीले नेपाल जाने योजना सुनाउने गरेको थिए ।

नियमित हवाई उडानको खवरपछि नेपाल जाने तयारीमा रहेको बताइरहेका ठुकरीको स्वास्थ्यमा समस्या भएको बताएपनि पोष्टमार्टमको रिर्पोटबाटै प्रष्ट हुने कम्पनीले जनाएको छ ।

पछिल्ला केहीदिन यता नियमित काममा नजाने, साथीहरुसँग घुलमिल नहुने ,एक्लै बस्न रुचाउने गरेको बताइएको छ । मृतक ठकुरीको अन्त्येष्टी लगायतका प्रक्रियाका बारेमा परिवारसँग आवश्यक सल्लाह गरेर निर्णय जनाइएको छ ।