म्याग्दीका भूतपूर्व सैनिकहरु अर्थात् लाहुरेहरुले सामाजिक सुरक्षाभत्ता पाउनुपर्ने मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएका छन् । सरकारले दिँदै आएको भत्ता चालु आर्थिक वर्षको साउन महिनादेखि कटौती भएको भन्दै भूतपूर्व सैनिक कल्याणकारी सेवा केन्द्र बेनी म्याग्दीमार्फत ज्ञापनपत्र पठाइएको हो ।

उनीहरुले बुधबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको कार्यकक्ष जिल्ला प्रशासन कार्यालयमा पुगी प्रजिअमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र पठाएको कल्याणकारी सेवा केन्द्रले जनाएको छ । अवकाश प्राप्त भारतीय, बेलायती र सिङ्गापुरे भूपू सैनिक तथा सिभिलियन कर्मचारीहरुले भत्ता कटौती गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राज्यले हामीहरुलाई गैरनागरिक सरहको व्यवहार गर्न खोजेको आरोप लगाएका छन् ।

अवकाश प्राप्त सम्पूर्ण वीर गोर्खाली भूपू सैनिकहरुले विदेशमा रहेर सेवा गर्दा राज्यले अरबौं रेमिट्यान्स प्राप्त गरेको उल्लेख गर्दै आफूहरुले पनि सामाजिक सुरक्षाभत्ता पाउनुपर्ने भूतपूर्व सैनिक कल्याणकारी सेवा केन्द्र बेनी म्याग्दीका अध्यक्ष क्याप्टेन मिनबहादुर कार्कीले माग गरे ।

उनले विश्वभर विभिन्न समयमा भएका ठूल्ठूला विश्वयुद्धलगायत युद्धहरुमा वीर गोर्खालीहरुले आफ्नो वीरता, कला र कौशलतासहित बहादुरी देखाएर विश्वमा नेपालको नाम चम्काउन सफल भएको बताउँदै नेपाल सरकारले पनि यसको उचित मूल्याङ्कन गर्नुपर्नेमा जोड दिएका छन् ।

सरकारले ७० वर्ष पूरा गरेका ज्येष्ठनागरिकहरुलाई सम्मानवापत दिँदै आएको सामाजिक सुरक्षाभत्ता भूपू सैनिकहरुले पनि पाउनुपर्ने अधिकार भएकाले यसलाई पुनः मन्त्रीस्तरीय निर्णबाट सच्याएर कार्यान्वयन गराउनुपर्ने माग गरिएको छ । गएको असार १७ गते बसेको मन्त्रीपरिषदको वैठकले भने विदेशी सरकारबाट नियमित रुपले निवृत्तिभरण प्राप्त गरिरहेका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षाभत्ता प्रदान गर्न नमिल्ने निर्णय गरेको थियो ।

विज्ञापन