बर्खाको भेलले बिगारेको सडक मर्मत गर्न कसैले चासो नदेखाएपछि बेनी नगरपालिका–९ स्थीत काउलेगौडाँ यूवा क्लवको सक्रियतामा गलेश्वर-काउलेगौडा सडक मर्मत गरिएको छ ।

हरेक दिन हिँड्नुपर्ने सडक मर्मतका लागि सम्बन्धित निकायबाट कुनै पहल नभएपछि यूवाहरुको सक्रियतामा मर्मत गरिएको हो ।

गलेश्वरबाट गाउँ जोड्ने सडकखण्डमा ओहोरदोहोर गर्नसमेत समस्या भएपछि मर्मत सहित सम्बन्धित निकायको समेत ध्यानार्कषण गराएको क्लवका अध्यक्ष प्रकाश खत्रीले बताउनुभयो ।

‘बाटो मर्मतमा सरकारी निकायलाई कुरेर बस्न सकेनौ, ‘त्यसैले यूवाहरुले पहिलो चरणमा केही काम गरेका छौ, अव आवश्यकता अनुसार नियमित मर्मत गछौ’ अध्यक्ष खत्रीले भन्नुभयो ।

क्लवले सवारीसाधन फस्ने, हिलाम्मे सडकमा ढुंगा विच्छाएका थिए । दुई दिन अगाडी पाँचौ अधिवेशनबाट निर्वाचित कार्यसमितिले समुदायस्तरमा गर्नुपर्ने कामको सूची बनाएर अगाडी बढ्ने प्रतिबद्धता जनाएका थिए। सडक मर्मतमा पदाधिकारी सहित ३० जना यूवाको सहभागिता रहेको सचिव अमृत पुरीले जानकारी दिनुभयो ।

म्याग्दीको भलिबल प्रतियोगितामा एक छत्र राज गरिरहेको क्लवले पछिल्लो समय खेलकुद गतिविधिमा केन्द्रित गरेपनि स्थापनाकालमा गाउँमा हुने विकास निर्माण, सामाजिक गतिविधिका साथै विपन्नको उद्धार, आर्थिक सहयोग लगायतका कार्यहरुमा अग्रसर रहेको छ । बर्खायाममा भत्किएका म्याग्दीका ग्रामिण सडकमा यातायातका साथै पदैलयात्रा गर्न समेत समस्या छ ।