वर्षैपिच्छे आधा जीव र आधा वनस्पतिको अस्तित्वमा रहने शक्तिबद्र्धक बहुमूल्य जडीबुटी यार्सा संकलन गदै आएका म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेका स्थानीयले यसबर्ष संकलन गर्न बुकिमा पुगे ।

बस्तीबाट करिब डेढ दिनसम्मको यात्रामा पुगिने बुकिङमा प्रसस्तै यार्सा पाईने भएपनि कोरोनाको जोखिमसँगै बजारको समेत अभावले धेरै दिन बसेनन् ।

विगतका बर्षमा तीन महिनासम्म यार्सा खोज्दै बुकिङमा विताउने स्थानीयले यार्साको खानीमै पुगेर पनि यसबर्ष बजारको अभावका कारण धेरै मेहनत नगरी फर्किएको यूवा चित्र छन्त्यालले बताउनुभयो ।

‘बाख्लै यार्सा पाईने ठाउँमा पुगेर पनि धेरै दिन बसेनन्,‘घरायसी र फुटकरमा गाउँमै बेच्ने गरी संकलन गरेर फर्किए’ छन्त्यालले भन्नुभयो ।

यार्सा सङ्कलन गरिने ठाउँमा विगतमा धेरै भिडभाड हुने गरेको अवस्थामा बजारको अभावले ज्यानको जोखिम मोलेर संकलन नगरी फर्किएका छन्त्यालको भनाई छ । ‘अहिले यार्साको बजार नै छैन, मुल्य घटेकाले जोखिम मोलेर संकलन गर्न जादैनन्’ छन्त्यालले बेनीअनलाइनलाई भन्नुभयो ।

यार्साको बुटी संरक्षण गर्ने गरी भविस्यमा ठूलो परिमाणमा संकलनको सम्भावना भएको क्षेत्रहरुमा स्थानीयले समेत संरक्षणमा चासो देखाइरहेका छन् ।

बुकिमा ठुलो आकारको यार्सा पाइने भएकाले पनि अन्तराष्ट्रिय ब्यापारीलाई आर्कषित गर्न सकिने स्थानीय संकलनकर्ताको भनाई छ । यस क्षेत्रका सर्वसाधारणको आम्दानीको मुख्य स्रोतमा यार्सा समेत पर्छ ।

करिब तीन महिना हिमाली क्षेत्र आसपासको बुकिङमा पुगेर संकलन गरिने यार्सा बेचेर आवश्यक घर खर्च, बालबालिकाको पढाइ लगायतका लागि खर्च गर्ने गरेको वडा अध्यक्ष गमान छन्त्यालले बताउनुभयो ।

‘सङ्कलन याममा चैत्रदेखि जेठ महिनासम्म बुकीमै बिताउँछन्,‘हिमाली बुटीको संरक्षणमा वडाले पनि चासो दिएको छ’ छन्त्यालले भन्नुभयो।

चौरवन,चमेली, रिखार,लम्फी,रिरु, ऋरु लगायतका स्थानमा यार्सा पाइन्छ।विश्वकै ७ औ अग्लो धौलागिरी हिमाल आसपासका बुकीमा छपक्कै भेटिने यार्सा संकलन गर्न यसबर्ष करिब ४० जना पुगेका थिए। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा, ४ मुदीको उच्च हिमाली क्षेत्रमा प्रसस्तै यार्सा पाइन्छ ।

विगत केहीबर्ष अगाडीसम्म यार्सा खरिद गर्न हेलिकप्टरमा समेत ब्यापारी आउने गरेकोमा पछिल्लो समय अन्तराष्ट्रिय बजारमा मुल्य खस्किएपछि ब्यापारीको माग समेत ह्वात्तै घटेको छ । एक किलो मा ३५ सयदेखि ४ हजारसम्म बुटी हुने गर्दछ । यार्सागुम्बालाई यौन क्षमता बढाउने औषधीका रुपमा पनि लिने गरिएको छ ।

विज्ञापन