पेटमा ५ महिनाको गर्भ थियो । स्वाद फेरेर भात खान मन लागेको बताउने गरेकी थिइन् । सधैं रोटीले छाक टार्ने गरेकी उनले भदौ १६ को साँझपख भात खाने इच्छा व्यक्त गरिन् ।

तर, भात पकाउने विषयमा सासू–बुहारीबीच एकमत बनेन । अन्ततः दुवैबीच मनमुटाव गहिरिँदै गएपछि गुलरिया नगरपालिका–३ खैरीकी २३ वर्षीया नीलम गोडियाले घरभित्रै झुन्डिएर आत्महत्या गरेको माइती पक्षको दाबी छ ।

गोडिया परिवार खेतीपाती र मजदुरीमा निर्भर छ । दैनिक काम गरेर छाक जुटाउने गरेका थिए । लकडाउनले लामो समय काम नपाएपछि घरमा पर्याप्त चामल थिएन । भदौ १६ को साँझपख नीलमले सासू लक्ष्मीसित भात पकाउने अनुमति मागिन् । तर चामल कम रहेको र परिवारका अन्य सदस्यले पनि रोटी खाने भनेपछि भात पकाउन अनुमति मिलेन ।

निलमका श्रीमान् ओमकारका अनुसार घरमा करिब १५ किलो चामल थियो । कहिलेकाहीं मात्रै भात खाने भन्दै उनीहरू दिनहुँ रोटीले गुजारा गरिरहेका थिए । आमाले बुहारीका लागि मात्र भात किन पकाउने भनेपछि त्यस दिन घरमा भात नपाकेको उनले बताए ।

त्यसपछि भात खानकै लागि नीलमले सापटीका रूपमा एक किलोजति चामल माइतीमा लगिन् । घरबाट ५० मिटरको दूरीमा छ उनको माइती घर । एक किलोभन्दा धेरै चामल लगेको भन्दै सासू र बुहारीबीच फेरि भनाभन भयो । त्यसपछि नीलमले लगत्तै आफ्ना बाबु रमेशसँग चामल मागेर सासूलाई फिर्ता गरिदिइन् ।

नीलमका माइती पनि मजदुरीमा निर्भर छन् । ६ दिदीबहिनीमध्ये नीलम काइँली हुन् । नीलमको माइतीमा पनि भात नपाकेको एक महिना भयो । त्यही कारण छोरीले भात खाने मनसायले आफ्नो घरबाट एक किलो चामल लिएर माइत आएकी नीलमका बाबु रमेशले बताए ।

वडाध्यक्ष राजकुमार यादवले भने भातकै विषयमा भनाभन भएपछि नीलमले आत्महत्या गरेकोबारे आफूलाई जानकारी नभएको बताए । ‘समस्या रहेको थाहा पाएको भए चामल, दाल दिएर पठाउँथें,’ उनले भने, ‘मेरो वडामा कसैलाई पनि भोकै मर्न दिन्नँ ।’

बर्दिया प्रहरीको मुद्दा फाँट प्रमुख प्रहरी निरीक्षक सुशील थापा मगरले भने घटना खानाकै वा अन्य कारणले भएकोबारे अनुसन्धान भइरहेको बताए ।पोस्टमार्टम रिपोर्टबाट भने आत्महत्या गरेको पुष्टि भएको उनको भनाइ छ ।  ५ वर्षअघि विवाह गरेका ओमकार र नीलमका दुई वर्षकी छोरी छन् । कान्तिपुर दैनिकमा समाचार छ ।