म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बेनी नगर विपद् ब्यवस्थापन समितिलाई ५० हजार सहयोग गरेको छ ।

सहकारीको १२ औ स्थापना दिवसको अवसरमा सहकारीका अध्यक्ष राजेश शाक्यले नगरप्रमुख हरिकुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।

सहकारीको सामाजिक उत्तरदाहित्व अन्तरगत नगरभित्र बाढीपहिरोबाट विस्थापितलाई राहत, पुर्नवास लगायतका अभियानमा सघाउने गरी उक्त सहयोग गरिएको अध्यक्ष शाक्यले बताउनुभयो।

सोही अवसरमा नगरप्रमुख श्रेष्ठले नगरभित्र मानवीय क्षती नभएपनि विस्थापित र उच्च जोखिममा रहेका घरधुरीको संख्या धेरै भएकाले विभिन्न संघसंस्थामार्फत प्राप्त सहयोगलाई पीडितको पुर्नवास अभियानमै खर्च गर्ने बताउनुभयो।

सहयोग हस्तान्तरण कार्यक्रममा उपमेयर सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदी लगायत नगर कार्यपालिकाका सदस्यको उपस्थिती रहेको थियो ।

यसैबीच स्थापना दिवसको अवसरमा सहकारीले नयाँ २० जना सेयर सदस्यलाई बेनपा–७ का वडा अध्यक्ष एवम् सहकारीका संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ,सल्लाहकार नैनकुमार श्रेष्ठ, दलप्रसाद श्रेष्ठले स्वागत गर्नुभएको छ ।

बि.स २०६५ सालमा स्थापना भएको सहकारीले ५० करोड ७१ लाख बचत र विभिन्न शिर्षकमा ४९ करोड ६९ लाख कर्जा प्रवाह गरेको प्रबन्धक लोकेश पुनमगरले जानकारी दिनुभयो । सहकारीका अध्यक्ष शाक्यको अध्यक्षता, उपाध्यक्ष सुन्दरकुमार श्रेष्ठको स्वागत र सचिव विनय श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।