बाढी, पहिरो र डुबानबाट नेपालमा बर्सेनि सरदर २ सयको मृत्यु र २ अर्ब रुपैयाँ बराबरको धनमाल नोक्सान हुन्छ । यो सँगै हजारौं नागरिक घाइते र घरबारविहिन हुन्छन् । नौ महिनासम्म कानमा तेल हालेर बस्ने सरकार बर्षात्को तीन महिना भने रोकथामको नौटंकी देखाउँछ ।

यस बर्षको बैशाखयता मात्रै नेपालमा विपद्जन्य घटनाबाट ३७४ जनाले ज्यान गुमाए भने १०१ जना बेपत्ता छन् । घटनाबाट ४२१ जना घाइते भएका छन् । यो बिचमा ४९ जिल्लाका ४७४ घर परिवार प्रत्यक्ष रुपमा प्रभावित छन् । यसबर्ष सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोक क्षेत्रमा पुगेको छ ।

जिल्लाका विभिन्न गाउँपालिकामा बाढी पहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् । पहिरोबाट बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा मात्रै ९७ र कर्मथलीका ६४ गरी १५९ घर परिवार विस्थापित भएका छन् ।

एनआरएनए बरिष्ठ उपाध्यक्षले पठाए सहयोग रकम गृह जिल्लामा प्राकृतिक विपद्बाट विस्थापितहरुको घाउमा मलहम लगाउन गैह्र आवासीय नेपाली संघ पोर्चुगलका बरिष्ठ उपाध्यक्ष भिमसेन थापाले सहयोग रकम पठाएका छन् । उनले प्रवासमा रहेका नेपालीसँग सहयोग रकम संकलन गरेर पीडितसमक्ष पठाएका हुन् ।

उनका अनुसार रु. ४ लाख १५ हजार संकलन भएको र उक्त रकम एक कार्यक्रमकाबीच चौतरा साङा चोकगडी–२ का वडा अध्यक्ष दीपेन्द्र थापामार्फत पीडितलाई हस्तान्तरण गरिनेछ । ‘सानो रकम भएपनि विपद्को घडिमा राहत पुग्ने भएकोले रकम संकलनको अभियान गर्नुपरेको हो ।’

उनले भने,‘प्रवासमा बसेर पनि नेपालप्रतिको माया र सद्भाव उत्तिकै हुन्छ ।’ राहत, उद्धार तथा बस्ती स्थानान्तरण गर्ने दायित्व राज्यको भएपनि सोचेअनुरुपको कार्य हुन नसक्दा पीडित झनै पीडित बनेको थापाको भनाई छ ।

उनले सामान्य दैनिक गर्जो टार्न सजिलो होस् भन्दै रकम संकलन गरेको जानकारी दिए । ‘आफ्नो गास कटाएर सहयोग गर्नुहुने सबैमा हार्दिक आभार प्रकट गर्दछु ।’

उनले भने, ‘हामीले गरेको सहयोग वास्तविक पीडितको हातमा पुगोस् ।’ समाजसेवी समेत रहेका थापाले रकम संकलनमा साथ दिने पोर्चुगलबासी लगयात प्रवासमा बस्ने सबैमा आभार व्यक्त गरेका छन् ।

उनले सहयोगी हातहरुलाई धन्यवाद दिदैं जन्मभूमि छाडेर प्रवासमा रहेर पनि जन्मभूमि र नागरिक पिडामा परेको बेला सहयोग गर्नु सबैको कर्तव्य रहेको बताए ।

यता, संघका अध्यक्ष तिलक गैरेले नेपालमा राज्यको आँखा नपुगेको बस्तीका पीडित नागरिकलाई सहयोग गर्नु मानविय धर्म भएको बताए ।

उनले हामीले पठाएको सानो रकमले कसैको चुल्हो बल्छ भने एनआरएनए पोर्चुगल सहयोग गर्न तयार रहेको बताए । स्मार्ट ट्राभलको ‘स्मार्ट’ सेवा सिन्धुपाल्चोक बाह्रबिसेका पहिरोपीडितका लागि संकलित रकम स्मार्ट ट्राभलले निःशुल्क पठाइदिएको संघका बरिष्ठ उपाध्यक्ष थापाले जानकारी दिए ।

ट्राभलका संचालक समिर भट्टराइले सहयोग रकम भएकोले आफुले शुल्क विनानै पीडितसमक्ष रकम पठाइदिएको जानकारी दिए ।

‘थोरै रकम भएपनि पीडितमक्ष पुगोस् भन्ने हाम्रो चाहना हो ।’ उनले भने, ‘सबै कुरामा मुनाफामात्रै खोज्नु हुँदैन्, सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्छ ।’ अभियानमा आफुले पनि सहयोग गर्न पाउँदा खुशी लागेको उनले बताए ।