पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको तीन हाराहारीमा बिक्री गर्छिन् तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा १० सम्ममा किन्छिन्।

उनी मात्र होइन देशभरका किसान र उपभोक्ता बिचौलियाको मारमा छन् । अधिकारीले गुनासो गरिन्ऽ “बिचौलियाको यो मनोमानीको विषयमा तपाइँहरुले कलम चलाइदिनुपर्यो ।” आफूले सस्तोमा बिक्री गर्दा उपभोक्ताले त्यहीअनुसारको मूल्यमा किन्न पाए सन्तोष हुने अधिकारीको भनाइ छ ।

भरतपुर महानगरपालिका–२६ भगडीमा १० बिघामा उनको पौलमी कृषि फार्म छ । त्यहाँको चार बिघामा चार हजार घरी केरा बिक्रीयोग्य भएको छ ।

आफ्नो बारीबाट व्यापारीले प्रतिकोसा तीनमा उठाउने गरेको उनी बताउँछिन् । भारतको केरलाबाट झिकाइएको उच्चस्तरको बेर्ना लगाएको उनको भनाइ छ । पानीका कारण थप पाँच बिघामा लगाएको केरामध्ये ७५ प्रतिशत नष्ट भएको छ । यो पीडा हुँदाहुँदै बिक्रीयोग्य केराले पनि बजार मूल्य नपाउँदा आफू जस्ता कृषक मारमा परेको उनको भनाइ छ ।

अहिले बजारमा लुकीछिपी भारतीय केरा आइरहेकाले यहाँको केरा बिक्री कम भएको  छ ।