मङ्गलबार देशका धेरै ठाउँमा पानी परेको छ । अहिले पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् मीनकुमार अर्यालका अनुसार देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका केही ठाउँमा भने ठूलो वर्षा भएको उहाँले बताउनुभयो।मङ्गलबार राति पानी पर्ने क्रम अझ बढ्ने पनि उहाँले बताउनुभयो ।

मङ्गलबार राति गण्डकी र ५ नम्बर प्रदेशसहित अरु प्रदेशमा पनि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो । बुधबार र बिहीबार पनि पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको खतरा रहेको उहाँले बताउनुभयो ।

भदौको अन्तिम महिनातिर चर्को घाम लागेकाले अहिले सामान्य पानी पर्दा पनि पहिरो जाने खतरा हुने उहाँले बताउनुभयो । भूकम्पले जमिनको भित्री भाग चर्किएकाले भूकम्प प्रभावित पहाडी जिल्लामा पहिरोको बढी खतरा रहेकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

मौसमविद् अर्यालका अनुसार अहिलेको पानीले नसोचेको ठाउँमा पहिरो जाने जोखिम हुन्छ । यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार रातिदेखि आउँदो १० गतेसम्म नै देशका धेरैजसो नदीमा पानीको बहाव बढ्ने सम्भावना छ ।

बाढीको जोखिम रहेकाले ११ गतेसम्म नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न वा सतर्कता अपनाउन सार्वजनिक सूचनामार्फत बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुर तथा गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, स्याङ्जा र नवलपुरमा बाढी पहिरोको उच्च जोखिम रहेको छ ।

त्यस आसपासका अन्य जिल्लासमेत जोखिममा रहेको छ । महाशाखाले कन्काई, वाग्मती, तिनाउ, वाणगङ्गा, पश्चिम राप्ती, बबईका सहायक नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावको सम्भावना रहेको जनाएको छ । यस्तै पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, सल्यान, सुर्खेत र दैलेख जिल्ला पनि बाढी पहिरोको जोखिममा रहेको महाशाखाले जनाएको छ ।

बाढी पहिरोको जोखिम उच्च रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । उज्यालो अनलाईनबाट