म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्थाले मङ्गलबार आफ्नो दशौं स्थापना दिवस मनाएको छ । सहकारीले नवौं साधारणसभाको आयोजनासहित सहयोग हस्तान्तरण तथा सम्मान कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।

सहकारीले हालै आएको भीषण वर्षाका कारण बेनी नगरपालिका–६, डम्बराका बाढीपहिरो पीडित २५ घर परिवारको पुनर्वासका लागि वडास्तरीय विपद् व्यवस्थापन समितिलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

यसैगरी बौद्धिक अपाङ्गताका अभिभावक संघ म्याग्दीलाई कार्यालय व्यवस्थापनका लागि नगद १० हजार रुपैयाँ सहयोग गरिएको सहकारीले जनाएको छ ।

त्यस्तै सहकारीले संस्थामा उत्कृष्ट बाल बचततर्फ बसन्त बानियाँ, स्वर्णिम बचततर्फ सुरतबहादुर खत्री, ऐच्छिक बचततर्फ मुनस्टोन प्रालि, विशेष बचततर्फ लक्ष्मी खत्री, साधारण बचततर्फ बालबहादुर महत, असल ऋणी रेखा कुँबरलाई सम्मान गरिएको छ ।

यसैगरी उत्कृष्ट कारोबारतर्फ शान्तबहादुर क्षत्री, तेजकुमारी बानियाँ, मुक्तिबहादुर खड्का र संस्थामा धेरै उपस्थित जनाउनेतर्फ कृष्णबहादुर बानियाँलाई सम्मान गरिएको बताइएको छ ।

उनीहरुलाई प्रमाणपत्रसहित मायोको चिनो (करुवा) उपहार दिएर सम्मान गरिएको थियो । कुल ४ सय ८७ जना शेयर सदस्य रहेको सहकारीको तीन करोड २२ लाख ४३ हजार शेयर पुँजी रहेको छ भने लगानीतर्फ १६ करोड सातलाख २५ हजार पाँचसय ३० र निक्षेप सङ्कलन १६ करोड ३२ लाख रुपैयाँ रहेको संस्थाका प्रवन्धक सरस्वती बानियाँले जानकारी दिएकी छन् ।

कार्यक्रमको उद्घाटन गर्दै संस्थाका निवर्तमान अध्यक्ष एवं बेनी नगरपालिका–६, अर्थुङ्गेका वडा अध्यक्ष कृष्णबहादुर बानियाँले सहकारी संघसंस्थाले आर्थिक कारोबारसँगै सामाजिक क्षेत्रमा पनि लगानीलाई वृद्धि गर्नुपर्नेमा जोड दिए । सहकारीका सल्लाहकार एकेन्द्रबहादुर रावलले सहकारीमार्फत उत्पादन र व्यवसायिकमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।

सहकारीका अध्यक्ष यामबहादुर बानियाँले विश्वामित्र सहकारीमार्फत शेयर सदस्यहरुको आर्थिकस्तर वृद्धि गर्नका लागि विभिन्न शीर्षकमा ऋण लगानी गरिएको जानकारी दिए । कार्यक्रम अध्यक्ष बानियाँको अध्यक्षता, उपाध्यक्ष भोजबहादुर रिजालको स्वागत र सचिव तुलसी सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।