निर्माण सुरु गरेको ५ वर्ष बितिसक्दा पनि पर्वतको मोदी गाउँपालिका- १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका- ८ जोड्ने भुरुङ्दी खोलामाथिको निर्माणाधीन पक्की पुल अझै बन्न सकेको छैन । अहिलेसम्म एउटा पिल्लरमात्रै ठडिएको छ, त्यो पनि अधुरै छ ।

प्रत्येक वर्ष करोडौं बजेट छुट्याउँदा पनि ठेकेदारकै ढिलाइले निर्माणकार्य अलपत्र भएको स्थानीयले गुनासो गरेका छन् । पुल निर्माणका लागि २०७२ सालमै ६ करोड १३ लाखमा ठेक्का सम्झौता भएको थियो भने २०७२ सालदेखि नै निर्माण थालिएको थियो । तर हालसम्म एउटा पिल्लर पनि पूर्णरूपमा ठडिएको छैन । पुल  आर्थिक वर्ष ०७४/०७५ मा सम्पन्न गर्नुपर्ने भए पनि १५ प्रतिशतभन्दा बढी काम भएको छैन ।

स्थानीय युवराज पौडेलले पुल निर्माण निरन्तरताको लागि पटक–पटक माग गरेको भए पनि राज्यले लगानी गर्ने तर अनुगमन र निरीक्षण नगर्नाले  समस्या देखिएको बताउनुभयो । सडक विभाग लगायतका निकायमा पुलको निर्माण कार्य अलपत्र परेको विषयमा ध्यानाकर्षण गराउँदा समेत निकास ननिस्केको उहाँको भनाई छ । उच्च पदस्थ व्यक्तित्वहरुबाटै ठेकेदारले संरक्षण पाएको उहाँको आरोप छ । बीचमै काम छोडेर ठेकेदार सम्पर्कमा नआएपछि आफूहरुले सडक विभाग तथा जनप्रतिनिधिलाई बारम्बार ताकेता गर्दा समेत पुल निर्माणमा कसैको चासो नदेखिएको स्थानीय तारा भुषाल र बलराम जैसीले दुखेसो पोख्नुभयो ।

न सडक विभागले अर्को विकल्प निकालेको छ, न ठेकेदारले काम सुरु गरेको छ,’ उहाँले भन्नुभयो, ‘समयमा पुल नबन्दा पर्वतको भुकताङ्लेका बासिन्दा वर्षायाममा यातायातको सुविधाबाट वञ्चित हुने अवस्था आएको छ ।’ पर्वत र कास्कीको सिमानामा पर्ने रामदुवालीमा लामो समयदेखि भुकताङ्ले बासीले पक्की पुलको माग गर्दै आएका थिए । पुल निर्माणका लागि ल्याइएका सयौं बोरा सिमेन्ट प्रयोग नभएरै खेर गएको छ भने छड, गिट्टी, बालुवा पनि अलपत्र छ ।

सडक डिभिजन कार्यालय बागलुङ मार्फत यो पुलको निर्माण जिम्मा पोखराका राजेन्द्र भण्डारीले लिएका हुन् । सडक डिभिजन कार्यालय बागलुङका प्रमुख रामेश्वर लम्सालले ठेकेदार सम्पर्कमा रहेपनि काम अगाडी बढ्न नसकेको बताउनुभयो । ‘२ वर्षभित्रमै निर्माण सक्नुपर्ने पुल हो, ठेकेदारलाई काममा र्फकन चिट्ठि फोन धेरै लेखियो, ताकेता गरिरहेका छौं,’ लम्सालले भन्नुभयो ।

उहाँले ठेकेदारलाई काम छिटो सुचारु गर्न पटक–पटक ताकेता गरे पनि निर्माणको काममा नर्फर्केपछि ठेक्का तोड्नेसम्मको कुरालाई अगाडि बढाएको बताउनुभयो । ‘सरकारले पहिलेदेखि निर्माणको क्रममा अलपत्र बनेका विकास निर्माणका कामहरुलाई एक वर्ष म्याद थप गरेको छ,’ लम्सालले भन्नुभयो, ‘यही पुष महिनासम्म हेरौँ, त्यस समयावधिमा पनि आएर काम नगरे स्वतः ठेक्का तोड्नेछाैँ ।’

पुल निर्माणको जिम्मा लिएका भण्डारीले काम गर्दागर्दै समस्या आएपछि रोकिएको र त्यसैमाथि लकडाउन भएसँगै काम गर्ने वातावरण नबनेको बताउनुभयो । चाँडै नै पुलको काम सम्पन गर्ने गरी बाँकी काम अगाडि बढाउने उहाँको अनुरोध छ । आफूले गलत नियतले काम नरोकेको उहाँको दाबी छ ।

पर्वतको मोदी गाउँपालिका अन्तरगत भुक, ताङ्ले, लप्सीबोट लगायतका बासिन्दा सदरमुकाम कुश्मा, प्रदेश राजधानी पोखरा तथा नजिकको बजार बिरेठाँटी, नयाँपुल पुग्नका लागि भुरुङ्दीखोलामाथि बन्न लागेको यो पुल अत्यावश्यक छ । यो पुल नहुँदा त्यसक्षेत्रका बासिन्दा बर्षायाममा यातायातको सुविधाबाट बञ्चित छन् ।