वर्षा ऋतु समाप्त भएर शरद ऋतुको आगमन भएसंगै उत्तरी म्याग्दीको लेकाली प्रकृति १६ श्रृङ्गार गरेर चिटिक्क परेकी अप्सरा जस्ती देखिएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ मा पर्ने पाउद्धार गाउँदेखि उकालो उक्लिएपछि देखिने प्राकृतिक सौन्दर्यता देखेर नलठ्ठिने सायदै कोही भेटिएला । डेढदशक अगाडीसम्म अनकान्टार पहाड अहिले म्याग्दी जिल्लाकै एक सुन्दर गन्तब्य बनेको छ। बाटाहरूमा अत्यन्तै सुन्दर फूलहरू फुलेको हुनाले त्यस धुरीहरूलाई नवदुलहीलाई झैं सिङ्गारेको छ । मिठामिठा फूलका बासनाले सारा जङ्गल सुगन्धमा रमेको थियो । भौगोलिक विविधता, जैविक विविधता, सुन्दर प्राकृतिक पर्यावरण, हरियाली जङ्गलसँगै विभिन्न रंगका फूलहरूले सिंगारिएको यस क्षेत्र वास्तवमै स्वर्ग छ ।हिमाल र आकाशको प्रतिबिम्म देखिने निर्मल ताल, माथि हेर्दा देखिने निलो आकाश,खर्कमा चरीरहेका चौरीको बथान, लेकाली भेडाको लहर,छङछङ गरेर बगिरहेका झरना र नजिकै मुसुक्क मुस्कुराएर आमन्त्रित गरे जस्ता देखिने अन्नपूर्ण,धौलागिरि र निलगिरि हिमालको शुभ्र पंत्ति । वर्णन गरी साध्य नभएको सुन्दर प्रकृति । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि २८ किलोमिटर उत्तर÷पूर्व को दुरीमा रहेको पाउद्धारदेखि खयरवराहीसम्मको भूगोल प्राकृतिक सुन्दरता र जैविक विविधताका मनमोहक र अमूल्य सम्पदाले सम्पन्न छ ।

Leave a Reply