नेपाल चेम्वर अफ कमर्स म्याग्दीको प्रथम अविधेशनबाट युवा व्यवसायी भरत बहादुर रकाल शाही चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न बार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट रकाल इन्टरप्राइजेस प्रालिका युवा व्यवसायी शाहीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।

समितिको बरिष्ठ उपाध्यक्ष यामनाथ सुवेदी, उपाध्यक्षमा प्रकाश सापकोटा, उपाध्यक्ष गंगा केसी, महासचिवमा संम्झना अधिकारी, कोषाध्यक्षमा कुल बहादुर बोहोरा, सचिवमा प्रविन सापकोटा र सह– कोषाअध्यक्षमा कुशल पौडेल रहेको सदस्यमा २७ सदस्य चयन हुनुभएको छ ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका गण्डकी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य यदुनाथ अधिकारीले चेम्बरले व्यवसायीको हकहितका लागि काम गरेको बताउनुभयो ।

कोरोना भाइरसको जोखिमसँगै ब्यवसायी संकटमा परेको भन्दै ब्यवसायीको हकहितका लागि थप योजना सहित अगाडी बढ्ने नवनिर्वाचित अध्यक्ष रकालले गर्नुभएको थियो । उहाँले जिल्लाको ६ वटै स्थानीय तहमा ब्यवसायीहरु बीचको एकता र सहकार्य सहितका अभियान सञ्चालन गर्ने बताउनुभयो ।

कार्यक्रममा युवा व्यवासायी धनबहादुर छन्त्याल, म्याग्दी जेसीजका अध्यक्ष सुजन बरुवाल,चेम्बरका पोखराका कोषाध्यक्ष कमल बस्नेत, महासचिव राजु श्रेष्ठ, अर्जुन शर्माले बोल्नुभएको थियो ।

विक्रम संवत २००७ सालमा स्थापना भएको चेम्वर अफ कमर्सले नेपालमा संचालित उद्योग तथा व्यवसायीहरुको हकहित तथा अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरण गर्दै आएको छ । कार्यक्रम अध्यक्ष शाहीको अध्यक्षता, उपाध्यक्ष यामनाथ सुवेदीको स्वागत र निर्मल खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।