नेपाल सितोरियो कराँते संघ म्याग्दीले १४ जना ब्लाक बेल्ट(कालो फित्तधारी) खेलाडीलाई सम्मान गरेको छ । शनिबार बेनीमा आयोजित कार्यक्रममा पोखराबाटमा सम्पन्न ग्रेडिङ सेमिनारमा सफलता प्राप्त गरेका खेलाडीलाई सम्मान गरिएको हो ।

नेपाल सितोरियो कराँते म्याग्दीबाट कराँते खेलको सुरुवात गरेका सुदिक्षा बुढा, अनिमा शर्मा, रिट्रोना बानियाँ, अविनाश राय, सिमित शर्मा, एलेक्स गुरुङ, एन्जु राम्जाली, पवित्रा पुन, श्रृष्टि घिमिरे, मेनुका बानियाँ, किसोर पुन, प्रशान्त थापा, अलिशा बानियाँ र अस्मिता तामाङलाई सम्मान गरिएको थियो ।

जिल्ला, क्षेत्र, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा समेत सहभागी भई म्याग्दीका खेलाडीले पदक समेत जितेका छन् । सम्मान कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष विरेन्द्र श्रेष्ठ, प्रशिक्षकहरु चन्द्रा घले, सुमन बानियाँ र निर्मल पुन लगायतको उपस्थिति रहेको थियो ।

म्याग्दीका सामुदायिक तथा निजी विद्यालयमा समेत कराँते खेलप्रति आर्कषण बढेको छ । १४ जना नयाँ ब्लाक बेल्ट प्राप्त खेलाडीको सीप र अनुभवलाई जिल्लामा प्रयोग गर्ने कार्यवाहक अध्यक्ष श्रेष्ठले बताए ।

उनले खेलकुद विधामा कँरातेबाट आफ्नो शरीर स्वस्थ्य र कुनैपनि अवस्थामा आत्मरक्षाका लागि पनि सहज हुने बताए । कराँते खेलमा म्याग्दीका खेलाडीले गण्डकी प्रदेशस्तरमा समेत उत्कृष्ट खेल प्रर्दशन गर्ने भएकाले प्रदेशस्तरीय खेलमा समेत म्याग्दीबाट कराँतेका धेरै खेलाडी सहभागि हुने गरेका छन् ।