फरक फरक जिल्लाका तीनवटा लघुबित्त वित्तीय संस्थाहरु मर्जमा जाने निर्णय गरेका छन् । काभ्रेपलान्चोक केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लि. बागलुङमा केन्द्रीय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र म्याग्दीमा केन्द्रीय कार्यालय रहेको शालीग्राम लघु वित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभीने (मर्जर) को सहमति भएको हो।

गाभ्ने/गाभीने (मर्जर) सम्बन्धी समझदारीपत्रमा आरम्भ चौतारी लघुवित्तका अध्यक्ष जगतबहादुर पोखरेल, सिवाईसीका अध्यक्ष पद्मनाथ शर्मा र शालीग्रामका अध्यक्ष कृष्णबहादुर थापाले बागलुङ बजारमा हस्ताक्षर गरेका छन्।

गाभ्ने/गाभीने (मर्जर) सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न/गाभिने तथा प्राप्ति (एक्विजिसन) र विलय (मर्जर) सम्बन्धी नियमावली २०७३ चौथो संशोधन २०७५० को विनियमावली ५ बमोजिम त्रीपक्षीय रुपमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।

हाल आरम्भ चौतारी र सिवाईसी नेपालको राष्ट्रिय स्तरको कार्यक्षेत्र छ भने शालीग्रामको गण्डकी प्रदेशका ११ जिल्लामा कार्यक्षेत्र रहेको छ । गाभ्ने/गाभीने (मर्जर) पश्चात एकिकृत संस्थाको चुक्तापुँजी ३५ करोड २ लाख ६५ हजार रुपैयाँ हुने छ।

आरम्भ चौतारीले यस पूर्व नै सर्वसाधारणका लागि आईपीओ निश्कासन गरिसकेको छ भने सिवाईसी नेपाल र शालिग्रामको सर्वसाधारणका लागि छुट्टाएको शेयर रकम एफपिओ माध्यमद्धारा पुरा हुनेछ । वित्तीय संस्थाको संयुक्त कारोवार माघ महिनाभित्र गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ।