खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले दशैंलाई लक्षित गरी यस वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ । हरेक वर्ष खसी बोका किनेर सहुलियत दरमा विक्रि गर्दै आएको लिमिटेडले १४ सय च्याङ्ग्रा र १६ सय खसी/बोका खरिद गरी बिक्री गर्ने तयारी गरेको हो ।

देशका विभिन्न स्थानबाट खसी बोका तथा च्याङ्ग्रा ल्याउने गरी गृहकार्य भइरहेको व्यापार कम्पनीले जनाएको छ । यसपटक खाद्यले खसी बोका र च्याङ्ग्रा खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ ।

व्यापार कम्पनीले दैनिक उपभोग्य बस्तुहरु जस्तै चामल, दाल, तेल लगाएतका सामग्री पनि विभिन्न स्थानबाट सहुलियत मूल्यमा उपलब्ध गराउने गरी गृहकार्य गरिरहेको छ ।

एकिकृत रुपमा भन्दा पनि बढी भन्दा बढी स्थानमा सुपथ मुल्यका पसल सञ्चालन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले हरेक वर्ष दशैं, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।-