म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाकी ज्येष्ठ तथा एकल महिला विखमा पूर्जाले गाउँमै बैंकको खाता खोलिन् । उमेरले डाँडापारिको घाम बनेकी पूर्जाले शनिबार गाउँपालिकाको टोलीसँगै पुगेका प्रभू बैंकका कर्मचारीको सहयोगमा सरल र सहज प्रक्रियाबाटै खाता खोल्न पाएपछि खुसी व्यक्त गरिन् ।

पूर्जाजस्तै ८२ बर्षिय खडानन्द शर्मा र ७१ बर्षिय बनिसरा थापाले पनि गाउँमै बैंकको खाता खोले। गाउँघरमै हिडडुल शौच गर्नसमेत आफैं शौचालयमा जान नसक्ने अवस्थाका बृद्धबृद्धाले गाउँमै बैंक खाता खोल्ने अवसर पाएपछि मख्ख छन् ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा रहेको प्रभु बैंकले वडास्तरमै पुगेर खाता खोल्ने अभियान सञ्चालन गरेपछि ज्येष्ठ नागरिक, अपांगलगायत वित्तीय कारोबारका लागि बैंकसम्म पुग्न नसक्ने अवस्थाका स्थानीयलाई राहत मिलेको छ।

‘बुढेशकालमा बैंकमा खाता खोलियो,‘यहाँ जम्मा हुने पैसाले आवश्यक पर्दा खर्च गर्छु’ एकल महिला पूर्जाले भनिन् । गाउँपालिकाको केन्द्रमा भत्ता लिन गएर फर्किने बेलामा यातायात खर्च, खानालगायत अन्य खर्च गर्दा भत्ता नै सकिने गरेको स्थानीयको भनाई छ ।

खाता खोल्न बैंकमा जानुपर्नेमा घरदैलोमै आएपछि उत्साहित भएका वृद्धवृद्धाले आफ्नो खाताको सुरक्षाका बारेमा समेत जिज्ञासा राखेको बैंकका शाखा प्रबन्धक उमाकान्त सापकोटाले बताए ।

‘सबै वडामा खाता खोल्ने अभियान छ,‘दुर्गमै पुगेर सेवा दिन्छौ सापकोटाले भने । खातामा पैसा राख्दाका फाइदाका बारेमा समेत बुझ्ने प्रयास गरेको बताए ।

गाउँपालिकाको कारोबार गर्ने संस्था भएकाले पनि प्रभुको अभियानमा जनप्रतिनिधिले समेत साथ दिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।

‘खाता खोल्ने अभियानमा कोही पनि नछुट्ने गरी नियमित हुन्छ,‘सेवाग्राहीले घरदैलोमै सेवा चाहेका छन्’ उनले भने । उनले हालसम्म वडा नं ३ दग्नाममा ८०, वडा नं ७ चिमखोला १३० र वडा नं ९ कुईनेमंगलेमा १५० जनाले खाता खोलेका छन् ।

गाउँपालिका भित्र शाखा कार्यालय रहेको वडा बाहेक ७ वटै वडामा पुग्ने बैंकको लक्ष्य छ । म्याग्दीको ६ वटै स्थानीय तहमा प्रभु बैंकको शाखा रहेको छ । स्थानीय तहको निर्वाचनसँगै जिल्लाका सबै स्थानीय तहमा पुगेका वित्तीय संस्थाले कर्जा र निक्षेपबाहेक जनस्तरसम्मै पुगेर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न सकेका छैनन्।

Photo: रघुगंगा गाउँपालिका–१ बेगखोलामा बैंक खाता हस्तान्तरण गदैं प्रमुख प्रशासकीय अधिकृत सुबेदी र बैंक म्यानेजर सापकोटा ।