म्याग्दीको सदरमुकाम बेनीलाई जोड्ने ग्रामीण सडकहरु सञ्चालनको व्यवस्था मिलाउने सहमति भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा पूर्वाधार विकास कार्यालय र निर्माण व्यवसायीहरुको भेलाले बेनी जोड्ने सबै सडकहरु अवरुद्ध नहुने गरी व्यवस्था मिलाउने सहमति गरिएको हो ।

बेनीमा भएको भेलाले बेनी–जोमसोम सडकखण्ड अन्तरगत बेनी–गलेश्वर, बेनी–दरबाङ सडकखण्ड तथा बागलुङ–बेनी सडकखण्डमा चौबीसै घण्टा सडक सुचारु हुने गरी व्यवस्था मिलाउने निर्णय भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

धार्मिक पर्यटकहरुको गन्तव्य रहेको मुक्तिनाथ तथा गलेश्वर दर्शनका लागि मुख्य मार्ग बेनी–गलेश्वरमा पटकपटक सडक अवरुद्ध हुने तथा बागलुङ–बेनी एवं बेनी–दरबाङ सडकमा पनि समस्या भैरहेको अवस्थामा निर्माण व्यवसायी तथा ठेकेदार कम्पनीका आधिकारिक प्रतिनिधिले त्यसलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले पूर्वाधार विकास कार्यालय म्याग्दीद्वारा सञ्चालित आयोजनाहरुको बारेमा चासो राख्दै विभिन्न पाँचवटा सडक आयोजनाको प्रगतिका बारेमा जानकारी लिनुभएको थियो ।

निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष एवं नागार्जुन देव एण्ड सायर बि.एन.जे.भीका आधिकारिक प्रतिनिधि नारायण जिसीले बागलुङ–बेनी सडकको कार्य ८८ प्रतिशत सकिएको र लकडाउनका कारण सम्पन्न गर्न नसकिएको बताउँदै निर्माण व्यवसायीहरुले समयमै आयोजनाहरु सम्पन्न गर्न हरदम प्रयास गरेको बताउनुभयो।

व्यवसायीका मेसिन औजारहरुको सुरक्षाका लागि समेत ध्यान पु¥याउनुपर्नेमा जिसीले जोड दिनुभएको छ ।
गौरी पार्वती रुपल जेभीका आधिकारिक प्रतिनिधि एवं निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष विपिन खड्काले गलेश्वर–बेनी सडकखण्डमा आगामी दिनमा कुनै हालतमा पनि अवरुद्ध नहोस भन्नका लागि एक्साभेटर तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत गलेश्वर–पिप्ले–भगवती हुँदै बेगखोला जाने सडक, बेनी–दरबाङ–ताकम–मुना–जलजला हुँदै ढोरपाटन जोड्ने सडक, बेनी–दरबाङ सडक, बागलुङ–बेनी सडक र बेनी–गलेश्वर सडकखण्ड स्तरोन्नति कार्य सञ्चालित छन् । उक्त आयोजनाहरुको एक अर्ब ८४ करोड ४७ लाखको लागत रहेको आयोजनाहरु तीव्र रुपमा सञ्चालन गर्ने निर्णय वैठकले गरेको थियो ।