प्राकृतिक प्रकोपका कारण छियाछिया बनेको मालिका गाउँपालिका-७ बिम र धवलागिरी गाउँपालिका-६ मराङका पहिरो पीडितलाई इन्द्रेणी कार्यक्रममार्फत ५४ लाखभन्दा बढी सहयोग हस्तान्तरण गरिएको छ ।

नेपालको लोक संस्कृतिको जगेर्नासँगै सामाजिक एवम् मानवीय सेवामा सक्रिय रहेको इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र सामाजिक अभियान्ता रमेश प्रसाईमार्र्फत मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, बिमका वडा अध्यक्ष रेशम जुग्जाली र मराङका वडा अध्यक्ष राजाराम सुबेदीलाई ५४ लाख १७ सय ५५ सहयोग हस्तान्तरण गर्नुभएको हो । पश्चिम म्याग्दीका बाढीपहिरो पीडितका साथै मृगौला, मुटु लगायत अन्य जटिल रोगका बिरामीको उपचारमा समेत गरी ६० लाख वितरण गरिएको टोलीले जनाएको छ । त्यस्तै पहिरो गएलगत्तै इन्द्रेणी कार्यक्रम मार्फत यसअगाडी समेत बिम, मराङका पीडितलाई १४ लाख हस्तान्तरण गरिएको थियो ।

गएको असार महिनाको २५ गते यता दोस्रोपटक म्याग्दीमा आएको टोलीको राहत अभियानमा सहयोग गर्ने अधिकांस म्याग्दी जिल्ला बाहिर, भुटानी र कार्यक्रमका नियमित श्रोताहरु रहेको सञ्चालक कँडेलले बताउनुभयो ।‘म्याग्दीका बाढीपहिरोले उठिबास बनाएको खवरले विश्व भरका नेपाली दुखी छन्,‘भविस्यमा पनि म्याग्दीमा हाम्रो यात्रा हुन्छ’ कँडेलले बेनीअनलाइनसँग भन्नुभयो । बाढीपहिरोबाट धेरै जनधनको क्षती भएकाले सहयोग आउने क्रम जारी रहेको कँडेलको भनाई छ ।

म्याग्दी जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणामा सरकारले नामै तोकेर घोषणा गर्ने इन्द्रेणी कार्यक्रमले समेत दवावमुलक कार्यक्रम सञ्चालन गर्ने समेत घोषणा गर्नुभएको छ ।

इन्द्रेणी बहसमार्फत अव रमेश प्रसाईमार्फत कार्यक्रम गरिने छ । बाढीपहिरोबाट धेरैले ज्यान गुमाउने जिल्लामा म्याग्दी भएपनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणामा संघीय सरकारले उपेक्षा गरेको गुनासो स्थानीयस्तरबाट समेत आएको टोलीको भनाई छ ।

शुक्रबार ढोरपाटन तर्फ प्रस्थान गरेको टोली फर्किएर आएपछि सरोकारवाला निकायसँग बहस कार्यक्रम गर्ने बताइएको छ । म्याग्दीमा गएको जेठ महिना यता बाढीपहिरोमा ३१ जनाको ज्यान गएको छ भने ६ जना बेपत्ता, दुई सय घरधुरी पूर्णरुपमा विस्थापित छन् ।

Leave a Reply