म्याग्दीको रघुगंगा गाउँपालिका-६ पाखापानीका ९० बर्षिय हर्कदेउ पुर्जाले गाउँमै बैंकको खाता खोले । उमेरले डाँडापारिको घाम बनेका पूर्जाले शुक्रबार गाउँपालिकाले वडास्तरमै खाता खोल्ने अभियानमा पहिलो खाता खोल्ने अवसर पाए ।

सरल र सहज प्रक्रियाबाटै खाता खोल्न पाएपछि खुसी व्यक्त गरेका पूर्जाले ९० बर्षको उमेरमा आफ्नै खाताबाट सामाजिक सुरक्षा भत्ता समेत प्राप्त गर्नेछन् ।पूर्जाजस्तै पाखापानी, ठाडाखानी, कोटगाउँ लगायतका क्षेत्रबाट आएका बृद्धबृद्धाले आफ्नै आँखा अगाडी बैंक खाता खोल्ने अवसर पाएपछि दंग परेका छन् ।

जनप्रतिनिधि र वडा सचिवमार्फत घरदैलोमा सामाजिक सुरक्षा भत्ता पाउने गरेका बृद्धबृद्धाले अहिले आफ्नै खातामा पैसा आउने गरी बैंक खाता समेत खोलेपछि आवश्यकता अनुसार पैसा निकाल्न पाउने भन्दै उत्साहित भएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताए ।

‘सामाजिक भत्ता पनि हामीले घरमै पुगेर दिन्छौ,‘बृद्धबृद्धालाई सास्ती नहुने गरी थप योजना समेत बनाएका छौ’ शेरपुञ्जाले भने ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा रहेको प्रभु बैंकले वडास्तरमै पुगेर खाता खोल्ने अभियान सञ्चालन गरेपछि ज्येष्ठ नागरिक, अपांगलगायत वित्तीय कारोबारका लागि बैंकसम्म पुग्न नसक्ने अवस्थाका स्थानीयलाई राहत मिलेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए । उनका अनुसार गाउँपालिकाको केन्द्र वडा नं ३ बाहेक सबै वडाबाटै सेवा दिने बताए । शुक्रबार र शनिबार पाखापानी र कोटगाउँमा सञ्चालन गरिएको शिविरमा बैंक खाता १ सय ४५, ज्येष्ठ नागरिक परिचय पत्र ९६, क बर्गको ४ जना र ख बर्गको १२ जनाको अपाङ्गता परिचय पत्र अध्यावधिक गरिएको गाउँपालिका आलेप सहायक कुशल ढुंगानाले जानकारी दिए ।