म्याग्दीका बाढीपहिरो पीडितलाई यूकेमा रहेका म्याग्देलीले करिब २३ लाख जुटाएका छन् । मनसुन सुरु भएयता जिल्लाका ६ वटै स्थानीय तहमा बाढीपहिरोबाट विस्थापितको पुर्नवास तथा राहत अभियानमा खर्च गर्ने भएको छ ।

यूकेमा रहेका म्याग्देलीको साझा संस्था मोनामार्फत पुर्नवास अभियानमा रहेको मोना अन्तराष्ट्रियलाई ७ लाख सहित विभिन्न स्थानीय तहलाई सहयोग गर्ने निर्णय गरेको महासचिव लालु पुनले बताउनुभयो।

मालिका र धवलागिरी गाउँपालिका ५ लाख , मंगला २ लाख, रघुगंगा र अन्नपूर्णमा ३ लाख र बेनी नगरपालिका-३ भकिम्लीलाई ५० हजार सहयोग गरिने महासचिव पुनको भनाई छ । गएको असार महिनाको २५ गते मराङ र बिममा ३१ जनाको ज्यान गए लगत्तै मोना यूकेले आर्थिक सहयोग अभियान सञ्चालन गरेको थियो ।

मोना यूकेले मोना आइइसीमार्फत पुर्नवाससँगै गाउँपालिकामार्फत पीडितको आवश्यकता अनुसार सहयोग गर्ने अध्यक्ष दल जुग्जालीले बताउनुभयो। ‘अझैपनि बाढीपहिरोको जोखिम छ,‘केही आर्थिक आपत्कालिन कोषमा राखेका छौ’ जुग्जालीले भन्नुभयो।

जिल्लामा बाढीपहिरोले ठूलो जनधनको क्षती भएपछि स्तब्ध भएको बताउँदै पीडितको पुर्नवास सहितको अभियानलाई समेत तिब्रता दिन जुग्जालीले अपिल गर्नुभएको छ । मोनाले करिब ३ लाख आपतकालिन कोषमा राखेको कोषाध्यक्ष पदम गर्बुजाले बताउनुभयो ।

यसअगाडी कोषाध्यक्ष गर्बुजा मार्फत मोना यूकेले मराङमा १ लाख ५० हजार, बिम १ लाख, रघुगंगा गापा–६ ठाडाखानी र कोटगाउँ मा ३० हजार सहयोग गरिसकेको छ भने दरबाङ दुखुखोलामा बेपत्ता भएकी महिलाको परिवारलाई १० हजार हस्तान्तरण गर्न बाँकी रहेको जनाएको छ ।

मोना यूकेको बैठकमा उपाध्यक्ष होम रोका लगायत विभिन्न पदमा रहेका पदाधिकारीले विस्थापितको पुर्नवास नै पहिलो प्राथमिकता भएकाले सबै पक्षको सक्रियतालाई थप तिब्रता दिन समेत अपिल गरेको छ ।