खाद्यले यो दसैंमा हिमाली च्याङग्रा नबेच्ने

0

कोरोना भाइरस संक्रमणले नाका बन्द भएपछि यसपटक छिमेकी मुलुक चीनको तिब्बतबाट च्याङग्रा नभित्रिने भएका छन्। तिब्बती च्याङग्रा भित्रिन नपाउँदा पोहोर भन्दा निकै कम संख्यामा च्याङग्रा पोखरा झर्नेछन्। पर्याप्त च्याङग्रा अभावमा यो पटक मूल्य पनि महंगो हुने व्यवसायीले बताएका छन्। मूल्य बढी भएपछि खाद्य संस्थानले पनि योपटक च्याङग्रा नकिन्ने भएको छ।

खाद्य संस्थान मुस्ताङका प्रमुख विनोद चन्दले मूल्य बढी पर्ने भएपछि यो पटक खाद्यले च्याङग्रा किन्ने निर्णय अहिलेसम्म नगरेको बताए। पोहोर जिउँदो च्याङग्राको मूल्य प्रतिकिलो ५६० रुपैयाँमा किनेर खाद्यले काठमाडौं पठाएको थियो। तर, अहिले जिउँदोको मूल्य नै प्रतिकिलो ७५० रुपैयाँ पर्ने भएपछि यो पटक किन्ने निर्णय नभईसकेको चन्दले बताए।

‘च्याङग्रा खोज्नकै लागि हामी उपल्लो मुस्ताङ घुमेर आइसक्यौ। पर्याप्त च्याङग्रा छैन,’ उनले भने, ‘किसानले मूल्य बढाएका छन्। पोहोर भन्दा अहिले किलोमा झन्डै दुई सय रुपैयाँ महंगो भनेका छन्। अधिक महंगो भएपछि हामीले किन्न सक्ने अवस्था रहन्न।’

उनका अनुसार खरिद नियमावलिले पोहोरको भाउमा १० प्रतिशत मात्र मूल्य बढाउन अधिकार दिएको छ। त्यसले गर्दा यो पटक खाद्यले बढीमा ६१५ रुपैयाँसम्म मूल्य हाल्न पाउँछ।

तर किसानले ७५० रुपैयाँ भन्दा कम्तिमा च्याङग्रा नदिने उनले बताए। जिउँदो च्याङग्रालाई प्रतिकिलो मूल्य ७५० रुपैयाँ हालेर ढुवानी गर्दै काठमाडौं पुर्‍याउँदा निकै नै महंगो पर्ने उनले बताए।

खाद्यले किसानले ल्याएका च्यांग्रा सिधै नगदमा किन्थ्यो। जोमसोममा संकलित च्यांग्रा बेनीसम्म हिडाएर ल्याउँदा त्यसको लागत पनि थपिन्छ।

बेनीसम्म हिडाएर ल्याउँदा प्रतिगोटा झन्डै २५० रुपैयाँका दरले लागत पर्दथ्यो। त्यसपछि ट्रकमा काठमाडौं पुर्‍याउँदा अतिरिक्त प्रतिगोटा झन्डै ८ सय रुपैयाँ बढी भाडा लाग्छ। सबै खर्च जोडेर न्यूनतम मुनाफा राखेर प्रतिकिलोका दरले संस्थानले राजधानीमा मूल्य निर्धारण गर्दै आएको थियो।

खाद्यले पछिल्लो केही वर्षदेखि हिमाली च्याङग्रा किनेर राजधान लगेर उपभोक्तालाई बेच्दै आएको थियो। पाहोर खाद्यले साढे ३ करोड रुपैयाँ खर्चेर १९२० वटा च्याङग्रा राजधानी लगेर बेचेको थियो।

खाद्यले किन्ने च्याङग्राको स्थानीय स्तरमा भाउ निर्धारणका लागि प्राथमिक खरिद समिति बनेको हुन्छ। त्यसमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा पशु प्राविधिक, खाद्यका शाखा प्रमुख र खाद्यकै प्रदेश प्रमुख सदस्य हुन्छन्।

‘अहिलेसम्म दररेट पनि निर्धारण भएको छैन,’ चन्दले भने, ‘अब निकै ढिलाई भइसक्यो। बाटोमा हिडेका च्याङग्रा ब्यापारीले किने झैं गरेर खरिद गर्न सकिन्न। प्रक्रिया पुर्‍याउँदा समय अभाव छ।’

अहिले किनेको मूल्य आगामि वर्ष घटाउन नपाइने भएकोले पनि किसानले मागेजति दिन नसक्ने उनले बताए। भूकम्पपछि संस्थानले वर्षेनी दसैंमा च्यांग्रा बेच्न थालेको हो।

जिल्लामा यो पटक स्थानीय च्याङग्रा पनि कम छन्। कोरोना त्रासले नाका सिल हुँदा छिमेकी मुलुक चीनको तिब्बतबाट पनि च्याङग्रा भित्रिन पाएका छैनन्। ‘तिब्बतबाट प्रयाप्त च्याङग्रा भित्रिन्थे र स्थानीय व्यवसायीले पोखरासम्म झार्थे। अहिले तिब्बतबाट ल्याउन पाइएको छैन।

स्थानीय उत्पादनले पनि बजारको माग पर्याप्त हुँदैन,’ उनले भने। च्याङग्रा अभाव तर व्यवसायीबीच प्रतिस्पर्धा हुँदा मुस्ताङमा मूल्य बढाबढ भएको उनले बताए। च्याङग्रा किन्न उक्लेका व्यवसायी १४ दिन क्वारेन्टिन बसेर पनि गाउँगाउँमा च्याङग्राको खोजिमा रहेको उनले जानकारी दिए।

स्थानीयले पनि यो पटक हिमाली जिल्लामा निकै नै कम संख्यामा च्याङग्रा भएकोले बजार भाउ बढ्ने बताए। तिब्बतबाट ल्याउन नपाएको र स्थानीय उत्पादन पर्याप्त नहुँदा अहिले मागेजति च्याङग्रा पाउने अवस्था नरहेको उनीहरुको भनाई छ।

अभाव भएपछि यो पटक मूल्य पनि पोहोर भन्दा बढिरहेको स्थानीयले बताए। बाह्गुँ मुक्तिक्षेत्र गाउँपालिकाका च्याङग्रा पालक किसान आङजिङ गुरुङले दुईवर्ष अघि उच्च हिमाली भेगमा हिमपातमा पुरिएर हजारौ च्याङग्रा मरेपछि उत्पादन घट्न थालेको बताए।

हिमपातको क्षतिपछि किसान च्याङग्रा पालनमा अलि डराउन थालेको उनको भनाई छ। यो पटक स्थानीय उत्पादनमा त्यसको असर पनि परेको उनले बताए।

पर्याप्त च्याङग्रा नपाएकै कारण योपटक स्थानीयस्तरमै मूल्य बढिसकेको उनले बताए। उनले आफ्ना १९० वटा च्याङग्रा प्रतिगोटा २६ हजार रुपैयाँका दरले बेचेको बताए। हिमाली जिल्ला मुस्ताङबाट दसैंमा मात्र झन्डै ३० हजार च्याङग्रा पोखरा हुँदै विभिन्न सहरका लागि झर्ने गर्दथे।

लोमान्थाङ गाउँपालिका ४ का स्थानीय नुर्बु गुरुङका अनुसार पर्याप्त मात्रामा तिब्बतबाट च्याङग्रा आउँदा स्थानीयले पनि कम मूल्य पाउँथे।

तर, कोरोनाका कारण तिब्बतबाट आउन नपाएपछि स्थानीयको मूल्य बढेको उनले बताए। उनका अनुसार यो पटक डोल्पाबाट १५ सय र स्थानीय उत्पादन ६ हजार हाराहारीमा गरि ७५ सय च्याङग्रा मात्र पोखरा झर्ने अनुमान रहेको छ। ‘बाहिरबाट हेर्दा च्याङग्रा पालन सहज देखिन्छ ।

तर, दुईवर्ष अघि यहाँका धेरै किसानले पशुपालनबाट ठूलो नोक्सानी खेपेका छन्,’ उनले भने, ‘त्यही भएर अहिले च्याङग्रा उत्पादन निकै नै कम छन्।

त्यही डरका कारण किसानले ठूलो आकारमा च्याङग्रा पाल्न छाडेको उनले सुनाए। हिमापातले दुई वर्षअघि झन्डै १५ सय च्याङग्रा मरेका थिए।

उनका अनुसार छोन्हुप, छोसेर लगायतका गाउँ च्याङग्रा पालनका लागि प्रख्यात हो। तर क्षतिपछि त्यहाँका किसान हच्किएका छन्। ‘५ सय च्याङग्रा पाल्ने किसानले १० वटा पालेका छन,’ गुरुङले भने, ‘सबैतिर अभावै अभाव छ। स्थानीय उत्पालन कम भएको र तिब्बतबाट ल्याउन नपाउँदा यहाँ अभाव भएर मूल्य बढेको हो।’

अघिल्ला वर्ष तिब्बतबाट पर्याप्त आउने, डोल्पाबाट पनि झारिने र स्थानीय उत्पादन पनि बढ्दा च्याङग्रा सस्तोमा पाइन्थ्यो। तर, यो पटक अभावले नै मूल्य बढ्न थालेको हो। तिब्बती च्याङग्रा भित्र्याएर स्थानीयलाई मिसाएर व्यवसायीले मुस्ताङी च्याङग्रा भन्दै बेच्ने गरेको उनले बताए।

उनले पोहोर खाद्य संस्थालाई केही च्याङग्रा बेचेकोमा यो पटक मूल्य कम दिने भएपछि खाद्यलाई दिन नसकेको बताए। उनले पनि यो पटक आफ्ना ३ सय र किनेको ५ सय गरि आठसय च्याङग्रा बेच्चका लागि पोखरातिर हिडाउने तयारी गरिरहेको बताए।

हिमाली जडिबुटी र हावापानीमा हुर्केकोले पनि पोखरेली उपभोक्ताले च्यांग्रा रुचाउँछन्। पोखरा मात्र नभई कास्की आसपासका जिल्लाका उपभोक्तले च्यांग्रा रुचाउन थालेका छन्।

कास्की बाहेक स्याङजा, तनहुँ, चितवन, बुटवलबाट समेत उपभोक्ता च्यांग्रा किन्न पोखरासम्म आउने गरेको उनले व्यवसायीले बताए। च्यांग्राको मासुको स्वादलाई पोखरेली उपभोक्ताले पूख्र्यौली स्वादको रुपमा पनि लिने गरेका छन्। Source: nagariknews.com

Leave a Reply