गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या ३४ पुगेको छ। निर्देशनालयका अनुसार पछिल्लो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयत्रिवेणी गाउँपालिका–२ दुम्कीबासको ३६ वर्षीय पुरुषको मृत्यु भएको हो।

असोज १७ गते सङ्क्रमण रहेको अवस्थामा खोकी, श्वासप्रश्वास र कलेजोको समस्या देखिएका ती पुरुषलाई आइसोलेसनमा राखिएको थियो।

लामो समयदेखि मुटु र कलेजो सम्बन्धी समस्याबाट ग्रसित रहेका उनको अस्पताल भर्ना भएकै दिन असोज १७ गते साँझ करिब ५ बजे मृत्यु भएको हो। आइतबार बिहान गण्डकी प्रदेशका ६ जिल्लाका ४३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।

योसँगै प्रदेशमा संक्रमितहरुको कुल सङ्ख्या चार हजार ५९ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको स्वाब परीक्षणबाट उनीहरूमा सङ्क्रमणको पुष्टि भएको हो।